क्रेडिट रेटिङबाट सरकार उत्साहित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

क्रेडिट रेटिङबाट सरकार उत्साहित

नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ भन्ने प्रमाणित भयो : अर्थमन्त्री



काठमाडाैँ । नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘डबल बी माइनस’ स्कोर प्राप्त गरेको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थ मन्त्रालयले जनाएको छ । यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने अर्थ मन्त्रालयको दाबी छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले खुसी ल्याएको बताएका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले पहिलो पटक गरेको कन्ट्री रेटिङले खुसी ल्याएको बताएका हुन् । पत्रकार सम्मेलन गर्दै क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनु पर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको बताएको हो।

कन्ट्री रेटिङले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको उनको भनाइ छ । उनले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताए । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्री पौडेलले बताए ।

‘कन्ट्री रेटिङ गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं, अब विश्वका लगानीकर्ताले नेपालमा लगानीका लागि तयार बन्छन्,’ उनले भने ।

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मूल्यांकनको आधारको रुपमा लिने गर्दछन् । यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखावाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्याउने सकिने अर्थमन्त्रालयको भनाइ छ ।

सार्वभौम क्रेडिट रेटिङलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारुपमा मूल्यांकन गराई पारदर्शिता कायम गरेको रुपमा समेत लिन सकिन्छ । नेपालको सार्वभौम क्रेडिट रेटिङले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय समुदायसम्म प्रस्तुत गरेको छ । सार्वभौम क्रेडिट रेटिङ विगतका तथ्यांक विश्लेषणको नतिजा मात्र नभएर भविश्यपरक दृष्टिकोण समेत हो । यसले अर्थतन्त्रको भावि दिशा र संभावनाको आंकलन गर्दै मुलुकले भविश्यमा आफ्नो ऋण दायित्व पुर्णरुपमा र समयमै भुक्तानी गर्न सक्ने क्षमताको मापन गर्ने अर्थ मन्त्रालयको भनाइ छ ।

क्रेडिट रेटिङको नतिजालाई दक्षिण एसियाली मुलुकहरुको रेटिङ नतिजासँग तुलना गर्दा नेपालले प्राप्त गरेको रेटिङ सन्तोषजनक रहेको छ । यसले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्ताहरुको लागि उत्साह सिर्जना गरेको छ । नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई नविनतम एवं वैकल्पिक वित्तका स्रोत परिचान गर्नुपर्ने अवस्थाको पूर्व तयारीको रुपमा समेत सार्वभौम क्रेडिट रेटिङलाई लिन सकिन्छ ।

प्रकाशित : ७ मंसिर २०८१, शुक्रबार १३:४२