काठमाडौं । विश्व बैंकको १२८ मिलियन डलर अर्थात १७ अर्ब १५ करोड सहयोगमा नेपाल सरकार र विश्व बैंकले संयुक्त रुपमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजनाको पहिलो चरणको काम शुभारम्भ गरेका छन् । सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीहरुको उपस्थितिमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयोजनाको शुभारम्भ गरेका हुन् ।
परियोजनाले नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी र सुरक्षा अभिवृद्धि गर्नुका साथै सडक सञ्जाल व्यवस्थापनमा सरकारको क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा यो कार्यक्रम कार्यान्वयन गर्नेछ ।
आयोजनाको पहिलो चरणमा छनोट भएका प्रदेशका १८० किलोमिटर सडक र पुलको स्तरोन्नति, ४ सय किलोमिटर सडक मर्मतसम्भार, ७ सय किलोमिटर प्रादेशिक सडक र पुलहरुको मर्मतसम्भारका गरिनेछ । साथै नगरपालिका र स्थानीय तहलाई जोड्नका लागि १०० किलोमिटर सडक र पुलहरु निर्माण गरिने जनाइएको छ ।
३ चरणको आयोजनामध्ये पहिलो सुदूरपश्चिम, कर्णाली, मधेश प्रदेश र १३ नगरपालिकामा कार्यान्वयन गरिनेछ । जसलाई आगामी चरणमा विस्तार गरिने बताइएको छ । प्रान्तीय तथा स्थानीय सडक र पुलहरुमा गरिएको सुधारले करिब १० लाख मानिसहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा आयोजना कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेश सरकारबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
Comment