निजी क्षेत्रलाई सरकारले प्राथमिकता दिए मात्र देशको अर्थतन्त्र अघि बढ्छः अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निजी क्षेत्रलाई सरकारले प्राथमिकता दिए मात्र देशको अर्थतन्त्र अघि बढ्छः अध्यक्ष ढकाल



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले प्राथमिकता दिए मात्र देशको अर्थतन्त्र अघि बढ्ने बताएका छन् ।

आजदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको फीन इलेक्ट्रो टेक २०२४ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्र अर्थतन्त्रको ईन्जिन भएकाले सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने भाष्य चिर्नुपर्ने बताए । उनले नेपालमा केही हुँँदैन भन्ने मनसायलाई तोड्नुपर्ने भन्दै सत्तामा भए पनि नभए पनि अर्थतन्त्रका एजेन्डामा सबै पार्टी एक हुनुपर्नेमा जोड दिए ।

‘कोभिडपछि निजी क्षेत्रको व्यवसाय खस्किएको अवस्था छ । देशको अर्थतन्त्र बिग्रिएको छ । यो अवस्था आउनसक्छ, यसलाई यसरी सुधार गरी अगाडि बढ्दा उपयुक्त हुन्छ भनेर निजी क्षेत्रले सुझाव दिँदै आएको छ ।’ उनले भने, ‘ तर उक्त सुझावलाई सरकारले निजी क्षेत्र फाइदाका लागि मात्र हेरेर सुझाव बुझायो भन्ने मान्यता राख्यो ।’

उनले अर्थतन्त्रको गतिविधि बढाउने मेजरमेन्ट र सुधारको कामको खाका हुनुपर्ने बताएका छन् । कामको रिपोर्ट कार्ड बनाए मात्र रिजल्ट आउने उनको भनाइ छ ।

आम उपभोक्तालाई नवीन र गुणस्तरीय सामग्री प्रयोगमा जनचेतना जगाउने उद्देश्यका साथ यस वर्ष “फीन इलेक्ट्रो टेक २०२४” को आयोजना गरिएको छ ।

प्रकाशित : २९ कार्तिक २०८१, बिहीबार ११:५८