पाँच बर्ष भित्रमा फलाममा नेपाल आत्मनिर्भर हुन्छः मन्त्री जाेशी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पाँच बर्ष भित्रमा फलाममा नेपाल आत्मनिर्भर हुन्छः मन्त्री जाेशी



नवलपरासी  ३१ चैत । उद्योग मन्त्री नविन्द्रराज जोशीले पाँच बर्ष भित्रमा फलाममा देश आत्मनिर्भर हुने घोषणा गरेका छन् । नवलपरासीको हुप्सेकोट गाउँपालिका – ५ पोखरीमा फलाम खानीको बिस्तृत भौगर्भिक अध्ययन तथा सर्भे कार्यको निरिक्षण गर्दै उनले आगामी पाँच बर्ष भित्र फलाममा आत्मनिर्भर बन्ने घोषणा गरेका हुन् ।

वि.स २०६६/०६७ सालमा कोइला खानीको अन्वेषणको क्रममा यहाँ फलाम खानी भएको पत्ता लागेको थियो । यो फलाम खानी देशकै ठुलो फलाम खानी भएकाले समृद्धिको आधार पनि यहाँबाट तय हुने मन्त्री जोशीले बताए । पूर्व पश्चिम राजमार्गको डण्डाबाट २१ किलोमिटर भित्र रहेको यो फलाम खानी १३०० मिटर अग्लो क्षेत्रमा फैलिएको छ । यहाँ आउने पूर्वाधार विकासमा सरकार लागेकाले सडक , खानेपानी, बिद्युतीकरणमा सरकारको ध्यान गएको उनले बताए ।

फलामको प्रशोधन यही ठाउँमा गर्ने भएकाले पाँच हजार मान्छेले ३५ बर्ष सम्म रोजगार पाउने समेत उनले बताए । यहाँको स्टिल उद्योगले पहिलो रोजगार दिन्छ त्यसमा स्थानीय गाउँलेलाई प्राथमिकता हुन्छ, उनले भने–‘राष्ट्रको समृद्धिमा ठुलो सहयोग यो खानीले गर्छ त्यसैले यहाँ तीन बर्ष भित्र बिजुली पानीको ब्यवस्था गरेरै छाड्छौं’ ।

पहिलो पटक खनिज नीति निर्माणको चरणमा मन्त्रालयले काम गरी अगाडि बढाएको छ मन्त्री जोशीले भने–‘नीति बनेपछि उद्योग स्थापना र प्रशोधनको कामले तीब्रता लिन्छ ’ । १० किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीलाई पाँच भागमा बिभाजन गरी नीजि क्षेत्रलाई पनि आमन्त्रण गरी काम गरिने उनले बताए । मूल्य निर्धारण गरेपछि राजश्वको ग्यारेन्टी गरी नीजि क्षेत्रलाई पनि सहभागी गराउने उनको भनाई छ ।

यहाँको पहाडमा नमूना परिक्षणमा ५८ प्रतिसत हेमटाइड रहेकोले यो उत्तम मानिन्छ । राजमार्गबाट नजिक र ठुलो परिमाणमा भएकाले यसको उत्खनन सम्भव भएको अन्वेषणमा खटिएका भूगर्भविद् नारायण बाँस्कोटाले बताए । आर्थिक बर्ष २०७३/०७४ को यो अबधिमा ८३ दिन लगातार काम गरेर ४७ वटा नमूना संकलन सहित हेमटाइड बेड ट्रास भएको र यसको रासायनिक परिक्षण भइरहेको उनले बताए ।

पोखरीको क्षेत्रमा दुई ठाउँमा ड्रिलिङ्गको काम भइरहेको छ । यसमा ७५ मिटर क्रोइङ्ग गरी नमुना परिक्षण जारी राखिएको छ खानी तथा भूगर्भ बिभाग धातु अन्वेषण शाखाका प्रमुख धर्मराज खड्काले बताए ।

फलाम खानी सञ्चालनमा आउने खबरले उत्साही भएपनि यसले पार्ने असरलाई सरकारले बेलैमा सम्बोधन गर्न स्थानीय चन्द्रबहादुर रानाले आग्रह गरे । एक बर्ष अगाडि तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डेले स्थानीयको मागलाई सम्बोध गरेर खानीको कामलाई अगाडि बढाउने आश्वासन दिएको भएपनि सडक निर्माणको लागि सात करोड रकम मात्र परेको स्थानीय अगुवा नुराचन्द्र पाण्डेले बताए ।

प्रकाशित : ३१ चैत्र २०७३, बिहीबार ०६:४०