यी चार वाणिज्य बैंकको सेयर खरिद गर्दा पाइन्छ लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यी चार वाणिज्य बैंकको सेयर खरिद गर्दा पाइन्छ लाभांश



काठमाडाैँ । सूचीकृत विभिन्न क्षेत्रका कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरिरहेका छन् । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्दै साधारणसभा बोलाइरहेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ७ वटाले लाभांश घोषणा गरिसकेका छन् । जसमा एभरेष्ट, सिटिजन्स र सानिमा बैंकले बुकक्लोजको मिति सकिसकेको छ ।

लाभांश घोषणा गरेका बैंकमध्ये स्टान्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र प्राइम कमर्सियल बैंकको शेयर खरिद गर्दा लाभांश पाउन सकिने छ । बाँकी ४ बैंकको सेयर खरिद गर्दा भने अझै लाभांशको अवसर छ । बैंकहरुले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र सम्बन्धित बैंकहरुको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्ताहरुले पाउने व्यवस्था रहेको छ ।

नबिल बैंक


नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कूल १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) अर्थात् प्रति शेयर १० रुपैयाँ (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । बैंकले हालसम्म बुकक्लोजको मिति तय गरेको छैन् ।


ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले उक्त लाभांश पारित आवश्यक पर्ने वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । तसर्थ अझै मंसिर ८ गतेसम्म शेयर खरिद गर्नेले बैंकको लाभांश पाउन योग्य हुनेछन् ।


प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यस बैंकले पनि बुकक्लाजको मिति तय गरेको छैन् । जस कारण अझै पनि शेयर खरिद गर्ने लगानीकर्ताहरुले घोषित लाभांश पाउन सक्नेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २५.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैकको यहि कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो यो बैंकको पनि बुकक्लोजको मिति घोषणा हुन बाँकी रहेको छ ।

प्रकाशित : २३ कार्तिक २०८१, शुक्रबार ०६:४८