नेपाल लाइफद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टम ‘नेपाल लाइफ पाठशाला’ अनावरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

बीमा

नेपाल लाइफद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टम ‘नेपाल लाइफ पाठशाला’ अनावरण

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सिस्टममा लग इन गरी उक्त प्ल्याटफर्मको उद्घाटन गरेका हुन्।

कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारीहरू, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधिहरू, बीमक समिति नेपाल लाइफका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सीईओ पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपालको युवा जनशक्तिको महत्वपूणर् हिस्सालाई उद्यमशीलतामा लगानी गर्न सके देशको आर्थिक विकास सहज हुने बताए। उनले भूमण्डलीकरणको प्रभावले विश्व एक डिजिटल डिभाइसमा सीमित बनेको उल्लेख गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न युवाहरूलाई डिजिटल प्रविधिको सदुपयोग गर्न आग्रह गरेका छन्।

नेपाल लाइफले लर्निङ म्यानेजमेन्ट सिस्टममार्फत बीमा अभिकर्ताहरूको तालिम घरै बसीबसी लिन सकिने सुविधा दिएको छ। पराजुलीले हालका लागि नेपाल बीमा प्राधिकरणद्वारा तर्जुमा गरिएको पाठ्यक्रमको आधारमा श्रव्य दृश्य सामग्रीमार्फत अभिकर्ताको आधारभूत तालिम सञ्चालन गरिएको र भविष्यमा कर्मचारीहरूको सीप अभिवृद्धिका लागि पनि कार्यक्रम ल्याइने जानकारी दिए। साथै, बीमा नवीकरण शुल्क भुक्तानी र बिमा योजना अन्तर्गत कर्जाको भुक्तानीका लागि कम्पनीले ल्याएको डाइनामिक क्यूआरको प्रयोग गरेर घरमै बसेर भुक्तानी गर्न पनि आग्रह गरे।

नायब महाप्रबन्धक उमापति पोखरेलले भौतिक तालिमको आवश्यकता घटाउँदै प्ल्याटफर्मले बीमा अभिकर्ता बन्न चाहनेलाई आफ्नो अनुकूल समयमा तालिम लिन सहज बनाएको उल्लेख गरे। उनले नेपाल लाइफलाई यस्तो प्रविधिमैत्री प्ल्याटफर्म विकास गर्ने पहिलो कम्पनी भएकोमा गर्व लागेको बताए।

तालिम विभाग प्रमुख रोजेश बस्नेतले प्ल्याटफर्मको उपयोगिता र प्रयोगका विधिहरू प्रस्तुत गरे भने सूचना प्रविधि विभाग प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्यूआरको प्रयोगबारे प्रष्ट्याए। बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले तालिम प्रक्रियालाई सहज बनाउने नेपाल लाइफको प्रयासको प्रशंसा गर्दै भविष्यमा पनि प्रविधिमैत्री काममा अग्रसरता रहने विश्वास व्यक्त गरे।

प्रकाशित : १२ कार्तिक २०८१, सोमबार १०:१८ 28 October, 2024 10:18 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।