१५औं इक्यान शैक्षिक मेला सकियाे, पाँच हजारभन्दा बढीले गरे अवलोकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१५औं इक्यान शैक्षिक मेला सकियाे, पाँच हजारभन्दा बढीले गरे अवलोकन



काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजना गरेको ‘१५औँ इक्यान मल्टि-डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ सम्पन्न भएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा सञ्चालित एक दिने उक्त शैक्षिक मेला विद्यार्थीको उल्लेखिय सहभागितासहित सम्पन्न भएको हो ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकलाई लक्षित गरी आयोजना गरिएको मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको इक्यानका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।

कोरोना महामारीपछि भौतिक रुपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ ।

मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरू, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरू तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, लगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेकाे थियाे । मेलामा सहभागी विद्यार्थीहरुले ती कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए ।

वन अप मिडिया प्रालिको व्यवस्थापनमा आयोजना भएको मेलाको प्रमुख प्रायोजकमा रियल ड्रिम्स एजुकेशनल कन्सलटेन्सी प्रालि र इन एसोसिएसनमा वेद इन्टरनेशनल एजुकेशन प्रालि थियो । साथै प्रायोजकमा केआईईसी प्रालि, अर्बिट इन्टरनेशनल एजुकेशन प्रालि, नोबेल एजुकेशन प्रालि, डब्ल्युआरआई एजुकेशन, राइट पाथ, सेनेका, कंगारु एजुकेशन फाउण्डेसन, एलाइट मुभर्स, भिरा एजकेशन र ग्रेस एजुकेशन प्रालि थिए ।

मेलामा विभिन्न २२ वटा कम्पनीका स्टल राखिएको थियो । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था इक्यानमा ६०७ सदस्य छन् ।

प्रकाशित : १६ आश्विन २०८१, बुधबार १९:४१