नेपाल इन्जिनियरिङ कलेज ३१ औं वर्षमा प्रवेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्जिनियरिङ कलेज ३१ औं वर्षमा प्रवेश



काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले ३० औं वर्ष पुरा गरेको छ । चाँगुनारायण भक्तपुरमा अवस्थित कलेज स्थापनाको ३० औं वर्ष पुरा गरेको हो । सन् १९९४ मा सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने उद्देश्यले मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेकको स्थापना भएको थियो ।

सर्वसाधारणका छोराछोरीलाई इन्जिनियरिङ शिक्षामा पहुँच पुर्याउने लक्ष्यका साथ नेपालको सामाजिक, शैक्षिक, व्यवसायीक र औद्योगिक क्षेत्रमा सक्रिय सात जनाको समुहले नेकको स्थापना गरेका हुन् । नेपाल इन्जिनियरिङ कलेजको स्थापना नेपालका प्रख्यात इन्जिनियर स्वर्गीय प्रा।डा।दीपक भट्टराई, पोखराका उद्योगी स्वर्गीय सुर्यबहादुर केसी, हरिप्रसाद पाण्डे, लम्बोदर न्यौपाने, इ।लवराज भट्टराई, रामरत्न उपाध्याय, डा।उपेन्द्र देवकोटाले गरेका थिए ।

त्यसो त नेक नेपालकै निजी क्षेत्रको पहिलो इन्जिनियरिङ कलेजसमेत हो । नेक स्थापना हुँदा इन्जिनियरिङ कलेजहरुको अनुगमन, नियमन गर्ने नेपाल इन्जिनियरिङ परिषद् समेत स्थापना भएको थिएन ।

थापाथली क्याम्पस, पुल्चोक क्याम्पस, पूर्वाञ्चल क्याम्पस लगायत सिमित कलेजहरुमा मात्र इन्जिनियरिङ शिक्षाको अध्ययन भइरहँदा त्यहाँ सर्वसाधारणका छोराछोरीको पहुँच पुग्न नसकेको परिप्रेक्ष्यमा निजी क्षेत्रबाट पनि कम शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हेतूले कलेजको स्थापना गरिएको संस्थापकहरुको भनाई छ ।

सुरुवाती चरणमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सुरु गरिएको थियो । पछि सन् १९९७ मा पोखरा विश्वविद्यालय सञ्चालनमा आएसँगै कलेजले त्यहाँबाट सम्बन्धन लिएको हो । नेकको शैक्षिक स्तर अन्तराष्ट्रियस्तरको बनाउन, इन्जिनियरिङ विधाका विविध विषयहरु सञ्चालन गर्नकालागि कलेज पोखरा विश्वविद्यालयसँग जोडिएको थियो । तथापि, पोखरा विश्वविद्यालयकै पाठ्यक्रम निर्माण गर्न त्यसबेला नेकमा कार्यरत प्राध्यापकहरुले योगदान पुर्याएका थिए ।

स्थापनाका केही समय सामान्य ढङ्गले कलेज सञ्चालन भएपनि क्वालिटी एजुकेशनका कारण विस्तारै विद्यार्थीहरुको आकर्षण बढेको थियो । नेपालमा प्रर्याप्त इन्जिनियरिङ कलेज नहुँदा धेरै विद्यार्थीहरु इण्डियाका बेङ्लोर, देहरादुर जस्ता शहरमा गएर इन्जिनियरिङ अध्ययन गर्ने गर्दथे ।

नेकको स्थापनाको एकाध वर्षपछि अन्य इन्जिनियरिङ कलेजहरु पनि सञ्चालनमा आए । फलस्वरुप सन् २००० यता अन्य इन्जिनियरिङ कलेजहरु पनि स्थापना भएपछि हाल सात वटा विश्वविद्यालय अन्तरगत ५० वटा भन्दाबढी इन्जिनियरिङ कलेजहरु सञ्चालनमा छन् ।

नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । स्नातक तहमा कलेजले सात वटा र स्नातकोत्तर तहमा ४ वटा विषयको अध्ययन अध्यापन हुने गरेको छ ।

कलेजले स्नातक तहमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुलर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र सिभिल फर डिप्लोमा होल्डर्स कोर्ष तथा आर्किटेक्ट सञ्चालन गरेको छ । स्नातकोत्तर तहमा निर्माण व्यवस्थापन, प्राकृतिक संसाधन व्यवस्थापन, अन्तरविषय जल संसाधन व्यवस्थापन र यातायात इन्जिनियरिङ् व्यवस्थापन विषयको अध्यापन गराउँदै आएको छ ।

शहरी कोलाहलबाट टाढा शान्त तथा हरियाली वातावरणमा करिब २ सय १० क्षेत्रफलमा भौतिक पूर्वाधार निर्माण गरी सञ्चालित कलेजले विद्यार्थीहरुको सिकाईको लागि अधिकतम शिक्षण विधि अपनाउँदै आइरहेको छ ।

कलेजमा हाल १२३ जना पूर्णकालिन शिक्षक शिक्षिका रहेका छन् । नेक मात्र यस्तो कलेज हो जसले पूर्णकालिन शिक्षक शिक्षिकाहरुको व्यवस्थापन गरेको छ । आधुनिक पुस्तकालय, विषयगत प्रयोगशाला, आफ्नै मिनी हाइड्रोप्लान्ट उपलब्ध छ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्था भएकाले कलेजले अधिकतम विद्यार्थीहरुलाई छात्रवृत्ति दिने गरेको छ । पोखरा विश्वविद्यालयले दिने छाज्ञवृत्तिसँगै कलेजले हरेक वर्ष स्थानीय तह छाज्ञवृत्ति, प्रादेशिक छात्रवृत्ति, प्रवेश परीक्षा टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिहरु प्रदान गर्दै आइरहेको कलेजका मिडिया रिलेसन अफिसर आशिषकुमार झा बताउनु हुन्छ ।

कलेजले वार्षिक रुपमा करिब १५ करोड बराबरको छात्रवृत्ति दिँदै आएको छ । यसका अलावा कलेजले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय रुपमा एक्सपोज गर्नकालागि युरोप, जापान लगायतका प्रतिष्ठित कलेजहरुसँग सहकार्य गर्दै आइरहेको छ । यहाँ अध्ययन गर्दागर्दै विद्यार्थीहरु फुल स्कलरसिपमा विदेशी विश्वविद्यालयमा गएर इन्र्टन गर्न पाउँछन् ।

पछिल्लो समय कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत गठित सञ्चालक समिति मार्फत सञ्चालनमा छ । तत्कालिन कलेज सञ्चालक समितिहरु विचको विवादले कलेजमा समस्या पैदा भएपछि सरकारले मन्त्रालयमार्फत समिति गठन गरेर कलेज सञ्चालन भइरहेको छ । हाल कलेजमा स्नातक तथा स्नातकोत्तरमा करिब दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

३० औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम गरी कलेजमा २० वर्षदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरेको छ ।

प्रकाशित : १० आश्विन २०८१, बिहीबार १६:०६