सरकारी कर्मचारीको सेयर किनबेच एलिट क्यापिटलले गरिदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारी कर्मचारीको सेयर किनबेच एलिट क्यापिटलले गरिदिने



काठमाडौं । सरकारले कार्यालय समयमा सबै सरकारी कार्यालयमा कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाएपछि एलिट क्यापिटलले त्यसको विकल्प दिने भएको छ ।

सरकारले भदौ २५ गते मंगलबारबाट देशभरका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने (टिएमएस)मा प्रतिबन्ध लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएको उल्लेख गरे ।

‘यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ ओलीले भनेका थिए,‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ ।’

सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको प्रधानमन्त्रीको भनाइ छ । ‘सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु,’ ओलीले भनेका थिए।

सिंहदरबारभित्र सेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टिएमएस नचल्ने बनाउन निर्देशन दिएको थियो ।

त्यस लगत्तै एलिट क्यापिटलले पीएमएस स्किम नै ल्याएको छ ।

सरकारले कार्यालय समयमा कारोबार निषेध गरेको भए पनि क्यापिटलले भने ढुक्क भएर कारोबार गर्न सक्ने व्यवस्था गर्ने भएको छ । क्यापिटलले ‘कार्यालय समयमा कारोबार निषेध ? ढुक्क हुनुस्, उपाय छ… अब हामी गरिदिन्छौं–तपाईंको कारोबार, तपाईंकै नाममा’ भन्दै सूचना जारी गरेको छ ।

यसका लागि न्यूनतम लगानी रकम १० लाख रुपैयाँ वा सो बराबरको सेयर हुनुपर्ने, एएमसी शुल्क १ प्रतिशत लाग्ने र मुनाफा ९०:१० प्रतिशत हुने जनाएको छ ।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार १५:५६