काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले पनि अर्थतन्त्र शिथिलताबाट बाहिर आइनसकेको बताएका छन्। यद्यपि नयाँ सरकार बनेको एक महिनामा नै क्रमशः अर्थतन्त्रको प्रतिकूलता अनुकूलतामा परिणत हुँदै गएको उनले जिकिर गरे।
उद्योग तथा व्यवसायी महासंघले शुक्रबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको विस्तार र विकास’ विषयक छलफलमा उनले यस्तो बताएका हुन्।
‘सरकार बनेको एक महिनामा नै गत वर्षको तुलनामा राजस्व संकलन २० प्रतिशतले बढेको छ। पुँजीबजार उत्साहित छ। सरकारले अगाडि सारेका योजनाले समग्र अर्थतन्त्र सकारात्मक बन्दै गएको छ,’ अर्थमन्त्री पौडेलले भने, ‘सरकारले क्रमशः अर्थतन्त्रका प्रतिकूलतालाई अनुकूलतामा ल्याउने काम गरिरहेको छ। अहिले पनि अर्थतन्त्र शिथिलताबाट बाहिर आइसकेको छैन। एक महिनाको कामले अर्थतन्त्र पूर्णरुपमा सुधार नभएकाले यसलाई विस्तारै सुधार गर्दै जानुपर्नेछ।’
उनले सरकारले निजी क्षेत्रका सबै समस्या समाधान गर्दै जाने बताए। ‘हिजो निजी क्षेत्रसँग समस्या थिए होलान्। तर, अब अगाडि समाधान छन्। तपाईंहरूको अगाडि स्थिर र काम गर्ने सरकार छ,’ अर्थमन्त्री पौडेलले भने, ‘तसर्थ निजी क्षेत्रले कुनै चिन्ता लिनुपर्ने अवस्था छैन। अब निजी क्षेत्रलाई आत्मविश्वास बलियो बनाएर अगाडी बढ्न आग्रह गर्दछु।’ सबै क्षेत्रको निराशा चिरेर सरकार अगाडि बढ्ने पौडेलको भनाइ छ।
अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई भुक्तानीका लागि रितपूर्वक जान आग्रह गरेका छन्। सरकारले निजी क्षेत्रलाई भुक्तानी दिनुपर्ने रकम बाकी नराख्ने उनको दाबी छ। हाल पनि निर्माण व्यवसायीको भुक्तानी लगातार भइरहेकोले उक्त भुक्तानी नरोकिने उनले बताए।
Comment