काठमाडाैं । सिटिजन्स क्यापिटलले १८औं वार्षिक साधारण सभा आगामी भदौ १७ गते बोलाएको छ।
सभा काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावास नजिक रहेको एटिक मिटिङ्ग हलमा बिहानको ११ बजेदेखि शुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्तापूँजीको १५.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको कम्पनीले बताएको छ। आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरु कायमै रहँदा पनि कम्पनीले अघिल्लो आर्थिक वर्षभन्दा गत वर्षमा उक्त क्षमता वृद्धि गरेको बताएको छ।
कम्पनीले वित्तीय परामर्श लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गरिरहेको छ।यो कम्पनी सिटिजन्स बैंकको सहायक कम्पनी हो । उक्त कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहलगानी छ।
काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा कम्पनीले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई विज्ञ तथा अनुभवी व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको बताएको छ ।
कम्पनीको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सबिर बादे श्रेष्ठ छन्।काठमाडौंको डिल्लीबजारस्थित बाटुलेघरमा कम्पनीको रजिष्ट्रर कार्यालय छ।
Comment