काठमाडौं । ब्रिटिश काउन्सिलले एजेन्ट र परामर्शदाताहरूसँग छलफल गरेको छ । विद्यार्थीहरूको शैक्षिक अनुभव बृद्धि गर्ने उदेश्यले छलफल गरेको जनाइएको छ ।
युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाडौंमा एजेन्ट र परामर्शदाता बैठक बोलाई छलफल गरेको थियो ।
बैठकमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिशीलता सक्षम पार्ने र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रयासमा कसरी सफलता दिलाउने भन्ने विषयमा छलफल भएको थियो । ब्रिटिश काउन्सिलले एजेन्ट क्वालिटी फ्रेमवर्क जस्ता पहलहरू मार्फत विद्यार्थीहरूलाई भरपर्दो मार्गदर्शन र सहायता प्रदान गर्न आवश्यक नैतिक मापदण्ड र ज्ञानले एजेन्ट र परामर्शदाताहरूलाई सुसज्जित पार्ने लक्ष्य राखेको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि गन्तव्यको रूपमा युकेको लोकप्रियता बढ्दै गएको देखाएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा अध्ययनका लागि युके जाने नेपाली विद्यार्थीको संख्या ८२ प्रतिशतले बढेको छ । सन् २०१९ सँग यस्तै तथ्याङ्कलाई तुलना गर्ने हो भने २०२३ मा युकेमा नेपाली विद्यार्थीको संख्यामा १३४० प्रतिशतभन्दा बढी वृद्धि भएको थियो।
उद्घाटनको अवसरमा ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडुगलले ब्रिटिश काउन्सिलले नेपाल र युकेबीच शैक्षिक तथा सांस्कृतिक अवसरहरू सिर्जना गरेको बताइन् ।
‘६५ वर्षभन्दा बढी समयदेखि, हामीले समावेशी, उच्च गुणस्तरको शिक्षण र सिकाइलाई अभिवृद्धि गर्नका लागि सबै तहका सरकारहरूसँग सहकार्य गर्दै नेपालको शैक्षिक प्राथमिकताहरूलाई गर्वका साथ सहयोग गरेका छौं,’उनी भन्छिन्,‘ हाम्रा कला र संस्कृति कार्यक्रमहरूले सांस्कृतिक सहजकर्ताहरूलाई सहयोग प्रदान गर्दछ र जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, सम्पदा, र लैङ्गिक समानता जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्दछ।’
Comment