सेबोनको नीति तथा कार्यक्रम: यस वर्षदेखि एआईबाटै सेयर बजारको अनुगमन तथा सुपरिवेक्षण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेबोनको नीति तथा कार्यक्रम: यस वर्षदेखि एआईबाटै सेयर बजारको अनुगमन तथा सुपरिवेक्षण गर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले चालू आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सेबोनले नीति तथा कार्यक्रममार्फत यस वर्षदेखि एआईबाटै सेयर बजारको अनुगमन तथा सुपरिवेक्षण गर्ने नीति अघि सारेको छ ।

धितोपत्र तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तरराष्ट्रिय रूपमा एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली सञ्चालनमा छन् । त्यस्तै, प्रणाली नेपालमा पनि प्रयोगमा ल्याउन अध्ययन गरिने बोर्डको नीति छ ।

त्यस्तै बोर्डले सार्वजनिक गरेको नीतिमा सेबोनको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने, आईपीओ अलटमेन्ट सफ्टवेयरको Vulnerability Assessment and Penetration Testing (VPAT) तथा अन्य प्राविधिक पक्षहरुका सम्बन्धमा अध्ययन गरी आवश्यक सुधार गर्ने र पुँजी बजारसम्बन्धी तथ्यांकहरुको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंकरपोर्टल स्थापना सम्बन्धमा अध्ययन गर्ने योजना सबोनेको रहेको छ।

यसैगरी धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने, धितोपत्र बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परिक्षण ढाँचा तयार गर्ने, बोर्डका कार्य सञ्चालनका लागि आवश्यक हुने सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने व्यवस्था मिलाउने तथा धितोपत्र बोर्डका सूचना प्रविधिको उपयोगलाई सुरक्षित बनाउन फायरवाल र ईडीआर/एफआईएम प्रणालीहरुको व्यवस्था गर्ने योजना पनि सेबोनको रहेको छ।

लगानी कोष तथा विशिष्टीकृत लगानी कोषहरुको कुल संख्याको कम्तिमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने, धितोपत्रको दोश्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरुमा संशोधन प्रक्रिया अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : १४ श्रावण २०८१, सोमबार ११:५२