नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयर प्रस्ताव पारित



काठमाडौं । नागरिक लगानी कोष (सिआइटी)ले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।

सभाले सो आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको ०८० असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पुँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए । उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै बैंक रिकन्सिलेसन कार्यका लागि छुट्टै टोली बनाई अगाडि बढिरहेको पनि बताए ।

त्यस्तै, उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषको वस्तुस्थितिबारे जानकारी गराएका थिए । कार्कीले सेयरधनीको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेका कारण १४ प्रतिशत बोनस दिएको बताए ।

आगामी दिनमा कोषले १४ प्रतिशतभन्दा तल नआउने गरी बोनस दिने प्रतिबद्धतासमेत व्यक्त गरे । सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ४८ अर्ब एक करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित : १ श्रावण २०८१, मंगलवार ११:०९