बैंकिङ्ग प्रणालीमा एकैदिन थुप्रियो १७ अर्ब निक्षेप, कर्जा प्रवाह भने स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ्ग प्रणालीमा एकैदिन थुप्रियो १७ अर्ब निक्षेप, कर्जा प्रवाह भने स्थिर



काठमाडौं । बैंकिङ्ग प्रणाली निक्षेप थपिने क्रम बढ्दै गएकाे छ । बैंक तथा वित्तीय संस्थामा पछिल्लो एकदिनमै १७ अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार २० गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब ८७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत असार १९ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ७० अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।

वाणिज्य बैंकहरुको निक्षेप पनि १६ अर्ब रुपैयाँले बढेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५६ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ । असार १९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ४७ अर्ब रहेको थियो।

यति बेला चालु आर्थिक वर्ष सकिन लागेको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी हुँदा बैंक तथा वित्तीय संस्थाहरु कर्जा असुलीमा लागेका छन् । असार मसान्तको चापले पनि निक्षेप संकलन बढेको बैंकरहरु बताउँछन् ।

असार २० गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप सात खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । निक्षेप संकलन बढेता पनि कर्जा प्रवाह भने स्थिर रहेको छ । असार २० गतेसम्म बैंकिङ प्रणालीबाट ५१ खर्ब ५२ अर्ब बराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

यता बैकहरूकाे सीडी रेसियो भने ७८.८० प्रतिशतबाट घटेर ७८.५९ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर पनि औषत विन्दु अर्थात ३ प्रतिशतभन्दा कम कायम भएको छ । असार १९ गते ३ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर घटेर २.९५ प्रतिशत कायम भएको छ ।

प्रकाशित : २५ असार २०८१, मंगलवार १५:३०