काठमाडौंमा पेट्रोलको हाहाकार, उपभोक्तालाई सास्ती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

काठमाडौंमा पेट्रोलको हाहाकार, उपभोक्तालाई सास्ती



काठमाडौँ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरु ७ बुँदे माग राखेर आन्दोलन गरिरहेका छन् । नेपाल आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरु अति आवश्यक सेवा सुविधा बिना नै काम गर्न बाध्य रहेको र ट्यांकर चालक मजदुरहरुको समस्या समाधानका लागि आयल निगम उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय लगायत सरोकारवाला निकायमा पत्रसहित अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा जान बाध्य भएको संघले बताएको छ ।

संघले ट्यांकर चालक र सहचालक मजदुरहरुलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनु पर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नविकरण खारेज गरिनु पर्ने, टेम्प्रेचरको सही व्यवस्थापन गरिनु पर्ने र सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्ने माग राखेको छ ।

यसैगरी ५० लिटर भन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनु पर्ने र चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता सम्बन्धि तालिमको व्यवस्थापन गरिनु पर्ने माग संघको छ ।

उक्त माग पूरा नभएपछि चालकहरुले जेठ ३२ गते कालोपट्टी बाँधेर र असार १ गते ट्यांकरमा कालो झण्डा राखेर विरोध गरेका थिए । आइतबारदेखि उनीहरुले पूर्ण रुपमा काम छोडेर गाडीको साँचो ट्यांकर धनीलाई हस्तान्तरण गरी आन्दोलन सुरु गरेका छन् ।

सरकारले पेट्रोलियम पदार्थलाई अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ ले पेट्रोलियम पदार्थ ढुवानीमा ढुवानीमा अवरोध, बन्द हडताल गर्न नपाइने व्यवस्था गरेको छ । तर चालकहरुले हडतालमा उत्रिएर पेट्रोलियम पदार्थ आपूर्ति ठप्प पारेपछि सर्वसाधरणहरुले सास्ती भोग्नुपरेको छ ।

प्रकाशित : ३ असार २०८१, सोमबार १४:२६