किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन पछि किशोरी र बालबालिकाहरूसँग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले यस्तो भनेकी हुन्। उनले किशोरीहरूमा राज्यका सबै निकाय, सामाजिक क्षेत्र तथा समाज, परिवार सबैले लगानी गर्न आवश्यक रहेको बताइन्।

मन्त्री चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको बजेट कटौती गर्दा आशातीत काम गर्न नसकेको समेत उल्लेख गरिन्।

‘बालबालिकाहरूको संरक्षण, शिक्षा, स्वास्थ्यमा लगानी तथा उनीहरूको सुरक्षाका निम्ति लगानी गर्न राज्य प्रतिबद्ध छ’, मन्त्री चौधरीले भनिन्, ‘त्यसका निम्ति हामीले काम पनि गर्दै आएका छौँ । तर मन्त्रालयत बजेटको सीमितताका कारण आशातीत काम गर्न सकेका छैनौँ ।’ मन्त्री चौधरीले छोरीहरूलाई शिक्षासँगै जीवन उपयोगी शिक्षा समेत सिकाउनुपर्ने बताइन्। खास गरी आत्मनिर्भर बनाउनका निम्ति सीप सिकाउनुपर्ने उनको भनाइ थियो।

‘हामीले यो बजेटमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएका छौँ । त्यो विशेष गरी छोरीहरूलाई आर्थिक रूपमा सबल बनाउनका निम्ति ल्याइएको कार्यक्रम हो’, मन्त्री चौधरीले भनिन्, ‘स्थानीय तहको सबै पालिकामार्फत सञ्चालन हुने गरी ल्याइएको उक्त कार्यक्रम केही ठाउँबाट पाइलटका रूपमा सञ्चालन हुनेछ। किनभने हामीले योजना बनाएअनुसार बजेटको व्यवस्था हुन सकेन ।’

त्यस क्रममा नवलपुरका किशोरीहरूले मन्त्री चौधरीसँग किशोरीको अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसम्वाद अन्तर संवाद कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित : ३० जेष्ठ २०८१, बुधबार १५:१२