बजेट यथार्थ धरातलमा टेकेर आएको छ,पूर्वाग्रहको दृष्टिकोण नराखि हेर्नुसः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थतन्त्र

बजेट यथार्थ धरातलमा टेकेर आएको छ,पूर्वाग्रहको दृष्टिकोण नराखि हेर्नुसः अर्थमन्त्री

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। अर्थन्त्री वर्षमान पुनले आगामी आर्थिकको बजेट यथार्थ धरातलमा टेकेर आएको दावी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका आएका विषयको जवाफ दिदै अर्थमन्त्री पुनले कुनैपनि पूर्वाग्रहको दृष्टिकोण नराखिकन हेर्ने हो भने यो बजेट यथार्थ धरातलमा टेकेर आएको दावी गरे। उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यको कार्यदिशा स्पष्ट गरी आगामी आर्थिक वर्ष लाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको उनले बताए।

उनले अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकोले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न भएको लगानी सम्मेलनमा व्यक्त भएका प्रतिवद्धता बमोजिम थप वैदेशिक लगानी परिचालन हुने बताए। बैंकिङ्ग प्रणालीमा लगानी योग्य रकमको वृद्धि तथा वाह्य क्षेत्र सुदृढ रहेको अवस्थाले सहज वातावरण सिर्जना भएको हुँदा बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने उनको विश्वास छ। अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको लागि राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा स्रोत सुनिश्चत गरिएका आयोजनाहरूमा स्रोतको कमी हुन नदिने प्रतिवद्धता जनाए।

सरकारले गर्ने लगानी, प्रत्यक्ष वैदेशिक लगानीमा हुने थप वृद्धि र निजी क्षेत्रले परिचालन गर्ने लगानीको कारण थप रोजगारीका अवसर सिर्जना भई विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारी गर्ने गरी वातावरण निर्माण हुने अपेक्षा बजेटले लिएको उनको भनाइ छ।

उनले आगामी आर्थिक वर्ष राजस्व परिचालन एवं अनुमानलाई अझ बढी यथार्थपरक बनाउने प्रयास स्वरूप राजस्व अनुमान चालु आर्थिक वर्ष भन्दा न्यून गरिएको जानकारी दिए। कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन क्रमशः कार्यान्वयन गरिने उनले बताए।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार १६:४८ 5 June, 2024 4:48 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।