काठमाडौं । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, वडाध्यक्ष राजेन्द्र बुमीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले मल्ल, आचार्य, बुमीसहित गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर विक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा र गाउँपालिकाका कार्यपालिका सदस्य एवम् अनुगमन समिति संयोजक दलवीर कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले आर्थिक वर्ष २०७७/७८ मा मुगुको सोरु गाउँपालिका वडा नं। ७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिकसमेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।
वास्तविकभन्दा कम चौडाइ कायम गरेको, फर्जी प्रतिवेदनका आधारमा भुक्तानी दिएको र निर्माण सम्झौता बमोजिम काम नगरेको अख्तियारले जनाएको छ । अख्तियारले जनही १३ लाख ७२ हजार बिगो कायम गरी कैद र जरिवाना गर्न मागदाबी गरेको छ ।
Comment