काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले फेब्रुअरी महिनाभर साल्ट ट्रेडिङको ‘आयोडिन मन्थ’ अभियान चलाउने भएको छ । आयोडिनयूक्त नूनको प्रवर्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप सन् २०२४ फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मनाउँदै आइएको छ ।
‘थोरै खाऔं, सही मात्रामा खाऔं, दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयूक्त नून नै खाऔं’ भन्ने नारालाई साकार तुल्याउन १ फेब्रुअरी २०२४ देखि १ महिनाभरी सरकारले आयोडिन मन्थका रुपमा मनाउने भएको छ । युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गरिदै आएको छ ।
आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये ‘भिजिबल गोइटर’ सन् १९८५-८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा देखिएको छैन । नेपाल सरकारले दिएको निर्देशनअनुसार यस कर्पोरेशनले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्षअनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वेअनुसार ९१ प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाइएको छ भने सन् २०१६ मा नेपाल सरकारले गरेको एनडीएचएस सर्वेअनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाइएको छ । सन् २०२२ मा नेपाल सरकारले गरेको एनडीएसएस सर्वेअनुसार करिब ९८ प्रतिशत प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाइएको छ । अतः यस उपलब्धीलाई जोगाई राख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ ।
आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयहरुमा कार्यक्रम, हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष (स्टल) राख्ने जस्ता गतिविधि महिनाभरी सञ्चालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ ।
नेपाल सरकारले विगत ६० वर्षदेखि साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई देशभर आयोडिनयूक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले ग्रामीणस्तरसम्म आयोडिनसम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । आयोडिन मन्थमा आयोडिनसम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ झोला, स्कुल झोला, टी–सर्ट तथा पम्पलेट जस्ता सामग्री वितरण गर्न विभिन्न विद्यालय तथा हाटबजारमा टोली खटाइएको छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Comment