पुसमा घरजग्गा किनबेचमा बढ्याे चहलपहल, राजस्वमा पनि वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पुसमा घरजग्गा किनबेचमा बढ्याे चहलपहल, राजस्वमा पनि वृद्धि



काठमाडौं । पुस महिनामा चालु आर्थिक वर्षकै सर्वाधिक घरजग्गा किनबेच भएको छ । कित्ताकाट खुकुलो र बैंक ब्याजदर निरन्तर घट्दै गएपछि घरजग्गा बजार केही चलायमान बनेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा देशभर ४५ हजार दई सय ७७ संख्यामा घर जग्गा कारोबार भएको छ । जुन चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा धेरै हो । मंसिरमा भने ४१ हजार ८५१ संख्यामा घर जग्गा कारोबार भएको थियो ।

पुस महिनामा अपार्टमेन्टको लिखत पारित २८ वटा भएको छ । मंसिर महिनामा यस्तो संख्या जम्मा २२ वटा मात्रै रहेको थियो । पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच इनरुवा मालपोत कार्यालयबाट भएको छ। त्यहाँ पुसमा १ हजार ९३७ लिखत पारित भएको छ। त्यसपछि भद्रपुरमा १ हजार ७४३, मोरङ बेलबारीबाट १ हजार ६५०, जनकपुरबाट १ हजार ५२०, राजविराजबाट १ हजार २६०, जलेश्वरबाट १ हजार ५७, मलंगवाबाट १ हजार ४५ र तौलिहवा मालपोत कार्यालयबाट १ हजार २ लिखत पारित भएका छन्।

काठमाडौं उपत्यकाको हकमा सबैभन्दा धेरै लिखत पारित भक्तपुर मालपोत कार्यालयबाट भएको छ। त्यहाँ ८७७ लिखत पारित भएको छ। त्यसपछि कलंकीबाट ६५०, चाबहिलबाट ४०८, साँखुबाट ४०७, डिल्लीबजारबाट १६१ र टोखाबाट १३७ लिखत पारित भएका छन्।

घरजग्गा कोरोबार बढेसँगै राजस्व पनि बढेको तथ्यांकले देखाएको छ । पुसमा घरजग्गा किनबेचबाट सरकारले तीन अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। मंसिरको तुलनामा पुसमा राजस्व संकलन ६५ करोड रुपैयाँले बढेको हो। मंसिरमा देशभरका मालपोत कार्यालयले दुई अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए। कात्तिकमा राजस्व संकलन दुई अर्ब १६ करोड रुपैयाँमा सीमित भएको थियो।

प्रकाशित : २ माघ २०८०, मंगलवार १५:३८