यस्ता छन् बोर्डका अध्यक्ष हमालले कार्ययोजना अनुरुप सम्पन्न गर्न नसकेका ७ काम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यस्ता छन् बोर्डका अध्यक्ष हमालले कार्ययोजना अनुरुप सम्पन्न गर्न नसकेका ७ काम



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ७ वटा कार्य आफुले पुरा गर्न नसकेको बताएका छन् । आफ्नो कार्यकालको अन्तिमदिन शुक्रबार आफ्नो कार्यकाल अवधि भर भएका कार्य प्रगति सार्वजनिक गर्दै उनले बोर्ड अध्यक्षको नियुक्तिका क्रममा पेश गरिएको कार्ययोजना अनुरुप ७ वटा कार्य सम्पन्न गर्न नसकिएको बताएका हुन् ।

कार्ययोजना अनुरुप साना तथा मझौला कम्पनीको धितोपत्र निष्काशन तथा कारोवार सम्बन्धी नियमावली तयार गरी नेपाल सरकार, अर्थ मन्त्रालयमा २०८० जेठ ७ मा पेश गरिएकोमा सो नियमावली नेपाल सरकारबाट स्वीकृत भै नसकेकोले सो कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकारेका छन् ।

त्यसैगरी, धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्वपूर्ण मौजुदा तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भैरहेका र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरुको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने कार्य गर्न नसकिएकोले डिजिटल प्ल्याटफर्म र पेपरलेस एडमिस्टेशन लागू गर्न नसकेको जनाएका छन् ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिबेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भैरहेका एआई बेस्ड एकीकृत वास्तविक समय सुपरिबेक्षण प्रणाली को विकास तथा कार्यान्वयन ल्याउन नसकिएको जनाएका छन् ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ताहरु तथा अन्य सरोकारवाला पक्षहरुबाट बोर्डमा प्राप्त हुने गुनासो र उजुरीहरुको प्रभावकारी समाधानको व्यवस्था गर्न मोबाइल एप सहितको केन्द्रिकृत गुनासो सुनुवाई प्रणाली को व्यवस्था गर्न नसकिएको स्वीकारेका छन् ।

बोर्डको जग्गा खरिद तथा प्राप्त गर्ने र भवन निर्माण गर्ने कार्य गर्न नसकिएको र नयाँ धितोपत्र औजारहरुको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्ने क्रममा मार्जिन लेन्डिगं सम्बन्ध अध्ययन भईसकेको भएतापनि पूर्ण कार्यान्वयनमा मार्जिन कारोबारको व्यवस्था गर्न नसकिएको स्वीकारेका छन् । उनले सूचीकृत संगठित संस्थाको स्वतन्त्र संचालक नियुक्ति सम्बन्धी कार्यविधि एवं धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाई कार्यान्वयनमा ल्याउन नसकिएको जनाएका छन् ।

प्रकाशित : २० पुष २०८०, शुक्रबार १५:४२