मंसिर २८ गतेदेखि हस्तकला व्यापार मेला हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मंसिर २८ गतेदेखि हस्तकला व्यापार मेला हुँदै



काठमाडौं । नेपाल हस्तकला महासंघले २०औं हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै महासंघ स्थापनाको ५१ औं वार्षिकोत्सव तथा १२ औं हस्तकला दिवसको अवसर पारेर उक्त मेलाको आयोजना गर्ने बताएको हो ।

महासंघका अनुसार मेला यही मंसिर २८ गतेदेखि पुस २ गतेसम्म होटेल डेल अन्नपूर्ण, दरबारमार्गमा हुनेछ । नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने तथा हस्तकला आयातकर्ता साथै उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्य सहित मेलाको आयोजना गरेको महासंघका अध्यक्ष प्रचण्ड शाक्यले बताए ।

‘यो मेलाले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहयोग पुर्याउनुका साथै नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने मदत पुर्याउने छ, स्वदेशी साथै विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्न पनि मेलाको महत्त्वपूर्ण भूमिका हुनेछ,’ उनले भने । मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बताइएको छ ।

मेलामा ३ वटा प्याभिलियन सहित करिब १३० वटा हस्तकलाका वस्तुका स्टलहरू रहने महासंघले बताएको छ । व्यापार मेलामा पाकिस्तान र बांगलादेशबाट आउने व्यापारीहरूको समेत स्टल रहने महासंघको भनाई छ ।

मेलामा स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरूको प्रदर्शनी गरिने छ । अध्यक्ष शाक्यका अनुसार मेलामा महिला, अपांग र पिछडिएका वर्गलाई निःशुल्क स्टल उपलब्ध गराइने छ ।

महासंघले मेलामा झण्डै १ लाख आगन्तुक आउने अपेक्षा गरेको छ । जसमध्ये २० हजार आगन्तुकको लागि निःशुल्क प्रवेश पास वितरण गरिने पनि बताइएको छ । यस्तै, व्यापार मेला अवलोकन गर्नको लागि महासंघले एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था महासंघले मिलाएको छ ।

मेलामा स्टल लिई सहभागी हुने सबै सहभागीहरू लगायत थप अन्य स्टलको व्यवस्था गरी समानान्तर रूपमा भर्चच्यूल मेला आयोजना गर्ने कार्यक्रम रहेका महासंघले बताएको छ । बीटुबी तथा प्रोडक्सन प्रमोसन समितिको संयोजनमा मेला अवधि बाहेक थप १० दिन गरी १५ दिनसम्म सञ्चालन हुने उक्त भर्चच्यूल मेलामा १२५ स्टल सहभागी रहने बताइएको छ ।

प्रतियोगिता प्रथम हुनेलाई ५० हजार पुरस्कार

उक्त मेलाको प्रमुख आकर्षणको रूपमा रहेको १८औं संस्करणको हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी) अन्तर्गत (क) परम्परागत विधा तर्फ ‘पौभा’ र (ख) समसामयिक विधा तर्फ – ‘छ्वाली कला’ मा प्रत्यक्ष रूपमा जीवन्त प्रदर्शनी गरी १८ औं हस्तकला प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।

सो प्रतियोगितामा प्रति विधा न्यूनतम १५ जनाको सहभागिता रहने महासंघले बताएको छ । साथै यस प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कलाकारहरूलाई नगद पुरस्कार दिइने छ । महासंघका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार, द्वितीयलाई तीस हजार र तृतीयलाई बीस हजार रुपैयाँ नगद प्रदान गरिने छ । योसँगै प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकारहरूलाई प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।

साथै मेलाको अवसरमा आर्थिक वर्ष २०७९/८०को लागि नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पुर्याउने उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई पनि महासंघले सम्मान गर्ने भएको छ । यसै गरी महासंघका एक उत्कृष्ट उद्यमी र एक कलाकारलाई पनि मेलाको अवसरमा सम्मान प्रदान गरिने छ ।

यस्तै, मेलाको अवसरमा प्रदर्शनी स्थलमा ७० जना कलाकारहरूको कलाकृति पनि प्रदर्शनी गरिने छ ।

उक्त प्रदर्शनीले हस्त निर्मित विविध कलाकृतिहरू प्रदर्शन गरी स्वदेशी तथा विदेशी कलाकार, व्यापारीहरू एवं आगन्तुकबीचमा परिचित गराउने उद्देश्य लिएको छ । नेपाल हस्तकला महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा मेलाको तेस्रो दिन शनिवार ७० वर्ष नाघेका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा १० जना जेष्ठ तथा वरिष्ठ कलाकारहरूलाई सगुन दिई चाँदीको फ्रेम सहित ताम्रपत्रबाट सम्मान गरिने छ ।

१२ अर्बको हस्तकलाका वस्तुहरू निर्यात

महासंघले नेपालबाट करिब १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका वस्तुहरू निर्यात भएको बताएको छ । महासंघले विश्वका विश्वका विभिन्न ६० भन्दा बढी देशहरूमा उक्त मूल्य बराबरको हस्तकलाका वस्तुहरू निर्यात भएको हो ।

महासंघका अनुसार उक्त निर्यात रकमको अनुपातमा स्वदेशी बजारमा पनि कारोबार भई करिव।२४ अर्ब रुपैयाँको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले योगदान दिँदै आएको छ । हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेका छन् ।

देशको व्यापार घाटा कम गर्न र आयात प्रतिस्थापन गरी व्यापार घाटा न्यूनीकरण गर्न हस्तकला जस्ता निर्यातमूलक उद्योगको विकास, बिस्तार र प्रवर्द्धनमा नेपाल सरकारले जोड दिनु अध्यक्ष शाक्यले बताए ।

प्रकाशित : 11 December, 2023 8:48 pm