९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सक्ने लक्ष्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सक्ने लक्ष्य



काठमाडौं । ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एम ए पावर प्रालीले जनाएको छ ।

कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन् । आयोजनाको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद विक्री गर्ने सम्झौता भएको छ ।

आयोजनाबाट हिउँदमा १८४ दशमलव ६७ गिगावाट आवर र वर्षायाममा ३७७ दशमलव ९३ गिगावाट आवर ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट २०८६ बैशाख २२ गते व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाकारी दिए ।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआईए) अन्तिम चरणमा रहेको र वित्तिय व्यवस्थापनका लागि नेपाली सँगै विदेशी लगानीकर्ताहरुसँग पनि आवश्यक प्रक्रिया अघि बढाइसकिएको कम्पनीका अध्यक्ष आचार्यले बताए ।

एम ए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माण ६ महिनाभित्र सकेर मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको निर्माणमा हात हाल्ने पनि आचार्यले जनाकारी दिए ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार १२:५२