अर्थतन्त्रका समस्या समाधान र आमूल नीतिगत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय संयन्त्र बनाउने प्रधानमन्त्रीकाे घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अर्थतन्त्रका समस्या समाधान र आमूल नीतिगत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय संयन्त्र बनाउने प्रधानमन्त्रीकाे घोषणा



काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान र आमूल नीतिगत सुधारका लागि अधिकार सम्पन्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका छन् ।

काठमाण्डौमा उद्योग वाणिज्य  महासंघद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।त्यसअघि महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवै पक्षको सहभागितामा उच्चस्तरीय संयन्त्र बनाउन प्रस्ताव गरेका थिए । उनको यो प्रस्तावलाई समर्थन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तो संयन्त्रमा प्रधानमन्त्री कार्यालय, सरकार, अर्थमन्त्रालय, उद्योग मन्त्रालय, निजी क्षेत्रका सवै संगठन, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र अर्थशास्त्रीको सहभागिता रहने पनि प्रधानमन्त्रीले जानकारी दिए । अर्थमन्त्री र अर्थसचिव विदेशमा रहेकाले उनीहरु स्वदेश फर्किए लगत्तै त्यस्तो उच्चस्तरीय संयन्त्र गठनको निर्णय गरिने पनि उनले जानकारी दिए ।

‘बजेट बनाउने सन्दर्भमा हामी अब बोल्ड डिसिजन गर्छौं, क्याबिनेटमा समेत यो  विषयमा छलफल सुरु भएको छ’, उनले भने, ‘अर्थतन्त्रमा केहि समस्या रहेको स्पष्ट गर्दै टालटुले सुधारले दिगो समाधान हुँदैन ।’

बाहिर हल्ला चलाइए जस्तो नेपालको अर्थतन्त्र नरहेको दावी गर्दै उनले भने, ‘नेपाली अर्थतन्त्रको समस्या नेपाली प्रकृतिकै छ, अर्थतन्त्रमा परेको दबाबको सामना पनि नेपालीपनबाटै गर्न आवश्यक छ, समस्याको समाधान हुन्छ, झुट्टा कुरा गरेर कसैले पनि जनतालाई आतंकित पार्नु हुँदैन ।’

प्रकाशित : 12 October, 2023 12:12 pm