मनग्य आम्दानी हुने भेडापालन चरन क्षेत्रको कारण व्यवसाय सङ्कटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मनग्य आम्दानी हुने भेडापालन चरन क्षेत्रको कारण व्यवसाय सङ्कटमा



भोजपुर । भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ । सामुदायिक वनले भेडा चराउन नदिएपछि समस्या भएको किसान बताउँछन् ।

चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा परेको भेडापालक कृषक गोविन्द बस्नेतले बताए। चरन क्षेत्रको अभावको कारण भेडा पाल्न सक्ने अवस्था नभएपछि व्यवसाय नै छाड्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

“चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय सङ्कटमा पर्दै गएको अवस्था छ”, किसान बस्नेतले भने, “भेडा पाल्न समस्या छ । सहजरुपमा चराउन सक्ने अवस्था छैन । सामुदायिक वनलाई शुल्क तिरेर चराउनु पर्छ । त्यही पनि सहजरुपमा चराउन सक्ने अवस्था छैन ।”

बर्खाको समयमा माथिल्लो भेगमा गोठ लैजाने भएकाले केही सहज भए पनि हिउँदको समयमा भने धेरै समस्या हुने उनको भनाइ छ । लेकाली भेगमा गोठ लैजाँदा डाँडा पाखामा चराउन सहज नै भए पनि तल्लो भेगमा झारेपछि भेडा बचाउन नै कठिन हुने बस्नेतले बताए।

भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको उनले बताए । त्यस्तै भेडा, ऊन, घ्यु, मही, छुर्पी लगाएत विक्रीबाट मनग्य आम्दानी हुने भएपनि चरन क्षेत्रको कारण भेडा पाल्न नै चुनौती रहेको किसानहरुको भनाइ छ । ऊनबाट बन्ने राडी, पाखी, लुकुनी लगायत पनि किसानको आम्दानीको श्रोतको रुपमा रहेको छ ।

आम्दानी राम्रो हुने भएपनि भेडापालन व्यवसायमा चरन क्षेत्रसँगै अन्य धेरै समस्या रहेको अर्का भेडापालक किसान मिडु शेर्पाले बताए। सामुदायिक वनको कारण चरनको लागि समस्या हुने गरेको शेर्पाले जानकारी दिए। त्यस्तै बाघ,भालु तथा कुकुरले पनि भेडा मारी दिने समस्या बढी रहेको किसान शेर्पाले बताए।

भेडामा देखिने विभिन्न रोगका कारण पनि समस्या हुने गरेको उनको भनाइ छ । भेडामा धक्ने, छेर्ने, ढाडिने, माटो खाने लगाएतका रोग मुख्य रुपमा देखिने गरेको उनको भनाइ छ ।

चरन क्षेत्रमा पर्ने सामुदायिक वनहरुले महङ्गो शुल्क लिने गरेको उनको भनाइ छ । यहाँ चराए बापत एक भेडीगोठले बार्षिक एक हजारदेखि पाँच हजारसम्म शुल्क तिर्नु पर्ने बाध्यता रहेको किसान शेर्पाले बताए।

चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय गर्न समस्या रहेको किसान शेरबहादुर कठेतले बताए । विगतका वर्षको तुलनामा पछिल्लो समयमा चरन क्षेत्रको लागि धेरै नै समस्या हुने गरेको उनको भनाइ छ । चरन क्षेत्रको कारण धेरै किसान व्यवसायबाट पलाएन हुने अवस्था रहेको उनले बताए । भेडालाई अरु पशुचौपाया जस्तो बाँधेर पाल्न सम्भव नरहेकोले चरन क्षेत्रको अतिनै आवश्यक हुने उनको भनाइ ।

चरन क्षेत्रको अभावले कतिपयले व्यावसाय नै छाड्न बाध्य भएको उनको भनाइ छ । चरन क्षेत्रको समस्या कारण यो व्यवसाय सङ्कटमा पर्ने अवस्था आएको किसानले बताउने गरेका छन् । राज्यले भेडापालन किसानलाई सहज चरिचरनको लागि पहल गर्नुपर्ने किसान कठेतको भनाइ छ । “यो व्यवसाय नयाँ पुस्ताले गर्न चाहदैनन्”, उनले भने, “हामीले पुर्खौली पेसालाई निरन्तरता दिँदै आएका छौँ । चरन क्षेत्रलगायतका समस्याका कारण धेरैले व्यवसाय छाड्दै गएको अवस्था छ ।”

राज्यले भेडापालक कृषकलाई आवश्यक प्रोत्साहनका कार्यक्रमसँगै निःशुल्क पशु बीमा गरिदिए सहज हुने उनीहरुको भनाइ छ । राज्यको तर्फबाट आवश्यक सहयोग भए पेसालाई जीवन्त राख्न केही टेवा मिल्ने भेडापालक किसानले बताउने गरेका छन् ।–––

प्रकाशित : २८ भाद्र २०८०, बिहीबार ०८:२४