पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको पहिलोपटक व्यावसायिक उडान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरको पहिलोपटक व्यावसायिक उडान



कास्की । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ । पोखरा विमानस्थल गत पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन भव्य उद्घाटन गरिएको थियो ।

पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगर प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुहरूको बिदाइ गरे।

पोखरा विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताए। उनका अनुसार प्रतियात्रु रु तीन हजार विमानस्थललाई आम्दानी भएको छ । कर्णले भने , “यो पोखराको पहिलो कमर्सियल उडान हो । यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौँ, चार्टरको रूपमा आएको हो । यसका लागि मेहनत गरेका थियौँ, कम्पनीलाई राम्रो सुविधा दिन्छौँ भनेर प्रतिबद्धता गरेका थियौँ, यसबाट उनीहरू कन्भिस भएर आएका हुन् ।”

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए । उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायतका विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए ।

काठमाडौँबाट उनीहरू आठवटा हेलिकोप्टरमा पोखरा आएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान अझै हुनसकेको छैन । आन्तरिक उडानमा विमानस्थल सीमित छ । यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो ।

प्रकाशित : २३ भाद्र २०८०, शनिबार ११:३४