मेसिनबाटै ग्राहकले नगद र चेक खातामा जम्मा गर्नसक्ने ग्लोबल आइएमई बैंकको सेवा शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

मेसिनबाटै ग्राहकले नगद र चेक खातामा जम्मा गर्नसक्ने ग्लोबल आइएमई बैंकको सेवा शुभारम्भ



काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ । सोमबार एक कार्यक्रमका बीच काठमाडौँको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरूलाई नवीनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो ।

अब बैंकका ग्राहकहरूले बैङ्क कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले बताएको छ । उक्त सेवाको उद्घाटन गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल बैंकले आफ्ना ग्राहकहरूलाई छिटो सेवा दिने उद्देश्यले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने मेसिन जडान गरेको बताए ।

उनले मेसिन जडानसँगै ग्लोबल आईएमई बैंकका ग्राहकलाई तत्काल सेवा दिने र बैंकमा हुने लाइन कम गर्न सहयोग पुग्ने बताए । अध्यक्ष ढकालले ग्राहकहरूलाई डिजिटल रूपमा छिटो सेवा दिने कार्य अन्तर्गत मेसिनबाटै चेक र नगद जम्मा गर्ने कार्यको सुरुवात भएको बताए । उनले ग्लोबल आइएमई बैङ्क पुँजी, सेवा, टेक्नोलोजी, नेटवर्क र पहुँच लगायत हरेक हिसाबले नम्बर एक बैङ्क बन्ने उद्देश्यका साथ गरिरहेको काममध्ये नगद तथा चेक जम्मा गर्ने मेसिन जडान भएको बताए ।

त्यस्तै, ग्लोबल बैंकका ट्रान्जेक्सन बैङ्किङ प्रमुख प्रकाश पौडेलले विश्वको डिजिटल प्रविधि हेरेर नेपालमा पनि बैंकको सेवा बैङ्क भन्दा बाहिरबाट दिने उद्देश्यले नगद र चेक जम्मा गर्ने मेसिनको सुरुवात गरिएको बताउनु भयो । उहाँले बैंकमा हुने चेकको कारोबारलाई ग्राहकमैत्री बनाउने हिसाबले बैंकमा उपस्थित नभई मेसिनबाट चेक जम्मा गर्ने प्रविधि ल्याएको बताए । उनले नयाँ प्रणालीहरूको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरू प्राप्त गर्न भौतिक फारम भर्नुपर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने बताए ।

उनले मेसिन सुरक्षाको हिसाब मजबुत रहेको बताए । पौडेलले मेसिनमा चेक जम्मा गर्ने आउने मानिसको अनलाइन भेरिफाइ गरेर जम्मा गर्ने बताए । उनले मेसिनबाट हुने कारोबार सबै डिजिटल रेकर्ड बस्ने भएको हुनाले भोलिको दिनमा तथ्याङ्क निकाल्न पनि सहज हुने बताए । उनले नगद जम्मा गर्ने मेसिनले नोट भेरीफाई गरेर मात्रै जम्मा गर्ने प्रविधि रहेको बताए । उनले ग्राहकहरूले मेसिनको माध्यमबाट ९५ हजारसम्म नगद जम्मा गर्नसक्ने बताए । पौडेलले मेसिनबाट ५०० र एक हजार रुपैयाँका नोट मात्रै नगद जम्मा गर्न सकिने बताए ।

ग्राहकहरूले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेण्ट र स्टेटमेण्ट प्रिन्ट पनि मेसिनबाट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । बैंकले नगद र चेक डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौँमा ५ ठाउँमा गरेको छ । नगद जम्मा गर्ने मेसिन काठमाडौँको कमलादी र न्युरोडमा छ भने काठमाडौं भन्दा बाहिर इटहरी,नारायणघाट र बुटवलमा रहेको छ । चेक डिपोजिट कमलादी,न्युरोड,कुलेश्वर तथा उपत्यका बाहिर विराटनगर र पोखरामा रहेको बैंकले जनाएको छ ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार १७:२३