काठमाडौं महानगरभित्र दर्ता नभएका टिकट बुकिङ काउण्टर भत्काउन सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

काठमाडौं महानगरभित्र दर्ता नभएका टिकट बुकिङ काउण्टर भत्काउन सुरु



काठमाडौं । काठमाडौँ महानगरपालिकाले टिकट बुकिङ काउण्टर भत्काउन सुरु गरेको छ । महानगरले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त र यात्रुमैत्री बनाउने उद्देश्यले दर्ता नगरी सञ्चालनमा आएका टिकट बुकिङ काउण्टर हटाउन सुरु गरेको हो ।

महानगरले गत साउन २६ गते एक सूचना जारी गर्दै जथाभाबी रुपमा सञ्चालित काउन्टर हटाउने निर्णय गरेको थियो । दर्ता नभएका काउण्टर भदौ १ देखि हटाउन सुरु गरिएको हो । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनुसार हालसम्म कोटेश्वरमा ४१, गौशालामा २७, चावहिलमा २१ र गोँगबु क्षेत्रमा ११ काउण्टर हटाइएको छ ।

कलङ्की र बल्खु क्षेत्रमा पनि दर्ता नभएका काउन्टर हटाउन सुरु गरिएको छ । महानगर प्रहरीले चावहिलमा अनाधिकृत रुपमा निर्माण गरिएका १० काउण्टर डोजर लगाएर भत्काइएको छ ।

उपत्यकाबाट बाहिर सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनकालागि तोकिएको मापदण्ड अनुसार व्यावसायिक ठेगानासहित सम्बन्धित वडा कार्यालयमा बुकिङ कार्यालय अनिवार्य दर्ता गर्नुपर्नेछ । मापदण्ड अनुसार टिकट बुकिङ कार्यालय सडक चोकको एक सय मिटर वरपर खोल्न नपाउने, बुकिङ कार्यालयअन्तर्गत मुख्य कार्यालय गोँगबुस्थित नयाँ बसपार्कभित्र अनिवार्य रुपमा हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगञ्ज र बाफलसम्म कुनै पनि कार्यालय खोल्न पाइनेछैन ।

यसैगरी, नियम अनुसार बुकिङ कार्यालयमा अनिवार्य भाडादर उल्लेख गरिएको बोर्ड राख्नुपर्ने, टिकट काट्न आउने सेवाग्राहीका लागि अनिवार्य आधारभूत आवश्यकता (पार्किङ, शौचालय, पानी, बत्ती बस्ने)लगायत व्यवस्था हुनुपर्ने, कार्यालयका कोठा कम्तीमा १० देखि १५ फिटको हुनुपर्ने, कर्मचारीले पोसाक र परिचयपत्र अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार १७:१८