चाँडै ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने तयारीमा सरकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चाँडै ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने तयारीमा सरकार



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै हरित हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने तयारीमा सरकार रहेको बताएका छन्। नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले हरित हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइसकेकोले सरकारले चाँडै हरित हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने बताएका हुन्।

जलविद्युत आयोजनाहरुको समय सीमावद्ध विकास र सो सँग सम्बन्धित सम्पूर्ण ऊर्जा संरचनाको निर्माणमा नेपाल सरकारको उच्चतम प्राथमिकता, सदासयता र सहयोग रहने प्रतिवद्धता जनाउदै उनले भने, ‘यसका लागि सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन समेत कुनै कसर बाँकी राख्ने छैन ।’

‘ऊर्जा सुरक्षालाई पनि एकिकृत राष्ट्रिय सुरक्षाकै अंगको रुपमा लिँदै जलविद्युतको प्रचुर उत्पादनबाट हरित, स्वच्छ ऊर्जा उत्पादकका रुपमा नेपालको अन्तर्राष्ट्रिय जगतमा समेत परिचय स्थापित गरी सन् २०४५ सम्ममा शुन्य कार्बन उत्र्सजन गर्ने प्रतिवद्धता पूरा गर्न कार्ययोजनाका साथ अघि बढ्नुपर्दछ’, उनले भने ।

नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइ नै सकेको बताएका छन् । सरकारले चाँडै नै ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्दैछ । उनले भने , ‘जुन आफैँमा दूरगामी महत्वको घोषणा हुनेछ । ग्रिन हाइड्रोज व्यापारिक रुपले सम्भाव्य हुने अवस्थामा नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ । यसबाट सरकारले स्वच्छ र नविकरणीय ऊर्जाको विकास र खपत गर्दै कार्बन उत्सर्जन घटाउने लक्ष्यमा सहयोग पुग्नेछ । तसर्थ म सम्बन्धित निकायलाई यससम्बन्धी थप अनुसन्धान र ज्ञानमा आधारित प्रविधिको विकासमा जोड दिन विशेष आग्रह गर्न चाहन्छु ।’

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार १४:३३