कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौः प्रधानमन्त्री दाहाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौः प्रधानमन्त्री दाहाल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताएका छन् ।शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडी बढाइने बताएका हुन्।

उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताए । उनले सो आयोजनाको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाइएको बताए ।

त्यसैगरी १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडी बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताए । प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत खपतको वृद्धि गर्दै र विद्युत निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताए ।

उनले भने, ‘आन्तरिक विद्युत खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्न अतिरिक्त स्वदेशी विद्युत माग पूरा गरी बढी भएको परिमाणको विद्युत निर्यातका लागि समेत स्पष्ट लक्ष्यका साथ हामी अगाडी बढीरहेका छौँ । योग्य र सक्षम जनशक्ति भएको नेपाल विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८ सय मेघावाट क्षमताको बहुआयामिक कर्णाली– चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरुको निर्माण अघि बढाउने सोच र योजनाका साथ नेपाल सरकार अघि बढीरहेको अवस्था तपाईहरुसँग राख्न पाउँदा मलाई विशेष हर्ष र गर्वको महशुस भएको छ । मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा नै कुनै मेघा प्रोजेक्ट अगाडी बढाउने सपना देखेको थिएँ । त्यसमध्येको कर्णाली चिसापानी १० हजार भन्दा बढी मेघावाटको सपना थियो । अहिले प्राधिकरणसँग कुरा गरेर अब हामी त्यसको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाउँदै छौँ । यो सम्पूर्ण नेपालीहरुका लागि खुशी र गर्वको विषय हो भन्ने मलाई महशुस भएको छ ।’

प्रधानन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारे ।

उनले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउनेगरी विद्युत प्राधिकरण लागि परिरहेको बताए । उनले सरकारले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होमा प्रोत्साहन गरिरहेको बताए । प्रधानमन्त्री दाहालले विकासका काममा राजनीति नगरी सबै एकजुट हुनुपर्ने बताए।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार १४:२१