विदेशमा रहेका नेपालीको मताधिकारका लागि एनआरएनएको चासो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विदेशमा रहेका नेपालीको मताधिकारका लागि एनआरएनएको चासो



काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा.बद्री केसीको नेतृत्वमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग भेटघाट भएको छ । निर्वाचनमा आयोगमा भएको भेटमा संघका कार्यकारी अध्यक्ष केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको पछिल्लो प्रगति सम्बन्धमा चासो व्यक्त गरेका थिए ।

उक्त भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने बताए ।

त्यसका लागि गैरआवासीय नेपाली संघले सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने आयुक्त थपलियाले बताए । नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै काम सुरु गर्ने उनको भनाई थियो ।

सो अवसरमा संघका कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए । भेटमा आयोगका उपसचिव सूर्यप्रसाद अर्याल,संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार १८:५४