एनआरएनए केन्द्रीय महाधिवेशनको चहलपहल शुरु, यस्तो छ केन्द्रीय प्रतिनिधि चयनको प्रक्रिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआरएनए केन्द्रीय महाधिवेशनको चहलपहल शुरु, यस्तो छ केन्द्रीय प्रतिनिधि चयनको प्रक्रिया



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने ११ औं महाधिवेशन हुँदैछ । केन्द्रीय नेतृत्व चयन हुने महाधिवेशनका लागि प्रतिनिधि दर्ता पनि सुरु भएको छ । यस पटकको महाधिवेशनमा करिब ४२ सय प्रतिनिधि छनोट हुने अनुमान गरिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा अगष्ट २६ तारिख सम्म संघका पूर्व पदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एप मार्फत आफ्नो प्रतिनिधि दावी गर्न पाउने छन् । बांकी १० प्रतिशत प्रतिनिधि संघको विधान अनुरुप संघको राष्ट्रिय समितिको कार्यसमितिको सिफारिशमा अगष्ट ३० तारिखसम्म केन्द्रमा पठाउनु पर्नेछ । आवेदन दिने र छनोट प्रकृयामा गत वर्ष भन्दा केही फरक बनाइएको छ ।

एनआरएनए आगामी नेतृत्वका लागि डा.बद्री केसी, डा.केशब पौडेल, महेश श्रेष्ठ, डा.हेम राज शर्मा, रविना थापा, सुनिल शाह र आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता गैरआवासीय नेपाली संघको संशोधित विधान २०२२ को दफा १३.७, अनुसूची ६ र ६ क र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावलीमा व्यवस्था भए बमोजिम हुने सचिबालयले जनाएको छ ।

गैरआवासीय नेपाली संघको विधान २०२२ को दफा २४.१ मा ३१ जुलाई भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र विधानको दफा १३.७ मा उल्लेखित अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको तोकिएको विवरण ३१ अगष्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पेश गर्नु पर्ने पनि सचिबलायले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधि छनोटको विधि र प्रक्रियाबारे अध्यक्षका बलिया दाबेदार डा.हेमराज शर्माले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् ।

अक्टोबरमा हुने एनआरएनएको निर्वाचनमा मतदान गर्नका लागि प्रतिनिधि बन्न चाहनु हुन्छ भने आवेदन खुलेको छ । आवेदन दिने र छनोट प्रकृया गत निर्वाचनको भन्दा केही फरक छ ।
१) प्रतिनिधिको आवेदन Smart NRNA app बाट मात्र दिन सकिनेछ । Smart NRNA app मा लगईन गरे पछि ‘Delegate’ भन्ने बटममा क्लिक गरेर आवेदन दिन सकिने छ ।
२) प्रतिनिधि बन्न पञ्जिकृत सदस्य हुन जरुरी हुन्छ । पञ्जिकृत सदस्य बन्नु भएको छैन भने तपाईले Smart NRNA app मा लगईन गर्न सक्नु हुने छैन र आवेदन दिन पनि सक्नु हुने छैन । विगतमा गैरसदस्यहरुलाई पनि एनसिसिहरुले प्रतिनिधिमा सिफारिस गरेको पाइएकोले यसको न्युनिकरण गर्न नयाँ व्यवस्था गरिएको हो । गत निर्वाचनमा Smart NRNA app मार्फत निवेदन दिने व्यवस्था गरिएको थियो तर लागु हुन सकेको थिएन ।
३) Smart NRNA app को लगईन र पासवर्ड सदस्यहरुले सुरक्षित राख्नु भएको छ भन्ने हाम्रो विश्वास छ । त्यसैले प्रतिनिधि स्वयमले नै आवेदन दिन सकोस् भनेर पनि नयाँ व्यवस्था गरिएको हो । विगतमा प्रतिनिधि अरु कसैले बनाइ दिने र यी प्रतिनिधिको नाममा उम्मेदवारहरूसँग बार्गेनिङ गर्ने चलन थियो ।
४) प्रतिनिधिको लागि आवेदन आज देखि अगष्ट २० तारिख सम्म दिनु पर्नेछ । विगतमा कतिपय एनसिसिहरुले प्रतिनिधिको लागि आवेदन नखुलाउने र आफ्ना नजिकका मानिस र आफन्तलाई प्रतिनिधिमा सिफारिस गर्ने, आवेदन खुलाए पनि प्रयाप्त समय नदिने, मन नपरेका प्रतिनिधिहरुको आवेदन लुकाउने आदि गतिविधी देखिएका थिए । संसार भर एकै साथ र एउटै सिस्टमबाट प्रतिनिधिको आवेदन मागिएकोले प्रतिनिधी छनोट पारदर्शी हुने अपेक्षा गरिएको छ ।
५) प्रतिनिधिको संख्या पञ्जीकृत संख्याको आधारमा हुनेछ । एनिसिसि र आइसिसिमा काम गरि सकेका र नव निर्वाचित एनसिसिका पदाधिकारीहरु सदस्यहरु, पदाधिकारी पदका उप विजेताहरु, क्षेत्रीय समिति संयोजक लगायतका बाट ९०% प्रतिनिधी छनोट हुने छन भने १०% प्रतिनिधि एनसिसिले छान्नेछ ।
६) २००३ देखि अहिले सम्म एनसिसि र आइसिसिका प्रतिनिधिहरुको डेटाबेस सचिवालयमा भएकोले गलत मानिसले आवेदन दिएमा यसको सजिलै पहिचान गर्न सक्नेछ । अतः सचिवालयले प्राप्त आवेदनको प्रारम्भिक स्क्रिनिङ गरी विधानले निर्धारण गरेको ranking सहित सबै सम्पूर्ण आवेदकको विवरण एनसिसिलाई पठाउने छ र एनसिसिको बैठकले प्रतिनिधिको अन्तिम रुप दिनेछ ।
७) वर्तमान आइसिसिका पदाधिकारी, सदस्यहरु, संरक्षक, सल्लाहकार, मानार्थ परिषद सदस्य, नब निर्वाचित आइसिसि सदस्य, नवनिर्वाचित र निवर्तमान एनसिसि अध्यक्षहरु स्वतः प्रतिनिधी रहनेछन् । त्यसैले उनीहरुलाई Smart NRNA app बाट फाराम भर्ने व्यवस्था अहिले गरिएको छैन। यस पटक संसारभरबाट करिव ४२०० प्रतिनिधि हुनेछन् । कुन देशबाट कति प्रतिनिधि छानिने छन भन्ने जानकारी सचिवालयले प्रकाशन गर्नेछ । प्रतिनिधी संख्या लगायत थप जानकारीको लागि इन बक्स वा कमेन्ट बक्समा सम्पर्क गर्नु होला ।
८) प्रतिनिधिको आवेदन दिन शुल्क लाग्ने छैन।
९) छनोट भएका प्रतिनिधिहरुलाई काठमाडौ जान प्रोत्साहन गरिन्छ । काठमाडौ जान नसक्ने प्रतिनिधिहरुलाई अनलाइनबाट मतदान गर्ने व्यवस्था गरिनेछ ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार १७:३३