काठमाडौँ । बैंकिङ विज्ञ विएन घर्तीले लेख्नु भएको बैंकिङ क्षेत्रमा रुचि भएका सबैका लागि उपयोगी नयाँ पुस्तक “बैंकिङ अनुशासन–दिगो विकासका लागि” बजारमा आएको छ । झण्डै तीन दशक बैंकिङ क्षेत्रमा बिताउनु भएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमुलक लेख रचनाहरु पुस्तकमा समावेश गरेका छन् ।
बैंकिङ क्षेत्रका विविध विषयलाई विश्लेषण गर्दै नीतिगत मार्गदर्शन गर्ने, सचेतना जगाउने र जीवन उपयोगी हुने लेख तथा विचारहरु पनि उनको पुस्तकमा छन् । कर्मचारीहरूलाई अनावश्यक बिक्री लक्ष्य दिँदाका बेफाइदा, पारिश्रमिक दिनेगरी व्यवसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण, बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुदाँको प्रभाव, फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विक्रिति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्था लगायतका सामग्रीहरुका कारण पुस्तक निकै ज्ञानवर्द्धक रहेको बैंकिङ क्षेत्रकै व्यक्तिहरुले बताएका छन् ।
पुस्तकका बारेमा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरञ्जीवी नेपालले लेखक घर्ती आफै पनि बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्वसम्मका जिम्मेवारी सम्हालेको र अनुभव भएको व्यक्ति भएकाले उहाँका अनुभव, अनुसन्धान र सिकाइ बैंक तथा वित्तीय संस्थाको जुनसुकै भूमिकामा रहेका व्यक्तिका लागि उपयोगी हुने भएकाले यो पुस्तक मार्गदर्शक बन्ने बताए ।
पूर्व बैङ्कर सशिन जोशीले बीएन घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजानाको संज्ञा दिनु भएको छ । विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरूका लागि पनि यो पुस्तक एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुने जोशीको ठम्याई छ ।
पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीहरुमा केही न केही परिवर्तन आउने लेखक घर्तीको विश्वास छ । व्यवस्थापन संकायका सबै विद्यार्थीहरुका लागि गतिलो पाठ्यसामग्रीको रुपमा समेत पुस्तक उपयोगी हुने प्राध्यापकहरुको भनाई छ । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायका प्राध्यापक प्रा.डा विष्णु खनालले व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सरल तरिकाले कुरा बुझाउन सक्ने क्षमता लेखक र पुस्तकमा रहेको बताए ।
बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्सका विषयमा अध्ययन, अनुसन्धान र प्रशिक्षणको काम गर्दै आएको बैंक विज्ञ घर्तीको आफ्नै संस्था बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रा.लि. (विआईएम)ले पुस्तक प्रकाशन गरेको हो । कुल ४४४ पृष्ठ रहेको पुस्तक बाक्लो देखिएपनि गुणस्तरीय कागजका कारण हलुका र आकर्षक छ ।





Comment