बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको व्यवसायी मल्होत्राको दाबी (विज्ञप्तिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको व्यवसायी मल्होत्राको दाबी (विज्ञप्तिसहित)



काठमाडौं । व्यवसायी दिपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार पत्रकार सम्मलेन गरेर उनले बुधबार बरामद भएको सुनमा आफ्नो, आफ्नो परिवार र आफ्नो नातेदारको कुनै संलग्नता नरहेको बताएका हुन्।

उनले वर्षौ लगाएर आर्जन गरेको प्रतिष्ठा निमिट्यान्न बनाउने गरी प्रहार भएको बताएका छन् । उनले आफ्नो सम्पूर्ण कारोबार व्यवसाय सरकारी कानुन अनुसार रहेको , आफ्नो सम्पूर्ण कर विवरण समबन्धित निकायमा पेश गरेको र सबै विवरण पारदर्शी रहेको बताए ।

उनले कुनै पनि अवैध तथा गैर कानुनी धन्दामा संलग्न नरहेको उनले बताए । उनले आरोप पुष्टि भए सजाय भोग्न तयार रहेको बताए । उनले आफु २५ वर्षदेखि भन्सार कार्यालय नगएको बताए । आफुले ल्याउने मोबाइल एजेण्टले नै ल्याउने गरेको र भन्सारको कोहि कमर्चारी नचिन्ने बताए ।

उनले नयाँ पत्रिका दैनिकले भ्रामक र कपोकल्पित समाचार लेखेको बताए । उनले आफ्नो भनाई समेत नराखी नाम र फोटो प्रकाशन गरेकोले नयाँ पत्रिका दैनिकले माफी माग्नु पर्ने बताए । माफी माग्दै समाचारको खण्डन नगरे आफुले कानुनी उपचार खोज्ने उनले बताएका छन् ।

उनले सुन ल्याएको गिरोहलाई जोगाउन आफुलाई मुछेको हुन सक्ने अनुमान लगाएका छन् ।

यस्ताे छ उनले निकालेकाे विज्ञप्ति:

उपस्थित पत्रकार मित्रहरु,

नमस्कार ।

मेरो छोटो समयको अनुरोधमा यहाँहरु उपस्थित हुनुभएकोमा यहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।
आज मिति २०८० ४१४ गतेको ‘नयाँ पत्रिका’ मा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट बरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको विषयमा मैले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ । समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु ।

म र मेरो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानून वमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको छ। मैले गर्ने सबै कारोवारहरु संगठित संस्था मार्फत हुने भएकोले प्रचलित कानून वमोजिम मेरो व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरण मार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गर्दछ । म र मेरो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रूपमा अन्य व्यक्तिसंग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोबार गर्ने गरेको छैन । म र मेरो परिवारको कारोवार, आय सबै कानून बमोजिम अभिलेखवद्ध, पारदर्शी भई कानून बमोजिम पेश हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन् ।
नयाँ पत्रिकामा प्रकाशित समाचारमा भनिएजस्तो त्यो सुन आयात गर्न मसम्बद्ध व्यापारिक प्रतिष्ठान एवं मेरो व्यक्तिगत सम्पत्तिबाट कुनै पनि माध्यमवाट भूक्तानी पठाउने कार्य भए गरेको छैन। साथै उक्त वस्तु आयातमा म, मेरो परिवार, म सम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसँगसम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउँमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु ।

पत्रिकामा नाम उल्लेख गरिएका अन्य कुनै पनि व्यक्तिसंग मेरो कारोवार र सम्बन्ध हुनु त परेको कुरा, चिनजानसमेत छैन । विदेशबाट पठाएको भनिएको वस्तु आयात गर्ने, उक्त वस्तु भन्सार जाँचपास गराउने र वस्तु जिम्मा लिने कुनै पनि चरणमा मेरो संलग्नता छैन । तर, प्रकाशित समाचारमा स्रोतको हवाला दिँदै आफैँ कल्पना गरेर पत्रकारले मेरो नाम मुछेका छन्, मेरो तस्वीरसमेत राखेर मेरो सार्वजनिक जीवनमाथि प्रहार गर्न खोजेका छन् । यसवाट समाचार लेख्ने पत्रकार, उक्त प्रकाशन संस्थाको नियत राम्रो नभएको स्पष्ट देखिन्छ । एउटा पत्रकारको अनुमान र आशंकाका आधारमा के कसैको सार्वजनिक जीवनमा प्रहार गर्न, समाजमा स्थापित पहिचानलाई खल्बल्याउन पाइन्छ ?

यो समाचार लेख्दा, तयार पार्दा मसंग निज पत्रकार वा सो प्रकाशनबाट कसैले यस विषयमा जानकारीसमेत लिन चाहेन । समाचारमा मलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको उल्लेख गरिए पनि यो सरासर झुट हो । म नेपालमा बसोबास भएको व्यक्ति हुँ । काम विशेषले कहिलेकाहीं विदेश जानुपर्ने अवस्थामा बाहेक म सदैव नेपालमा रहने हुँदा मसंग सम्पर्क नहुने अवस्था हुँदैन । सम्पर्क हुन नसकेको व्यहोरा पारी निवेदकको वैयक्तिक, पारिवारिक, सामाजिक एवं व्यापारिक ख्यातिलाई धुलोमा मिलाउने ।धुलीसात पार्ने गरी गैरकानूनी कार्यमा संलग्नता भएको राष्ट्रिय समाचार माध्यममा प्रकाशित गरिनु कदापी क्षम्य र सहनयोग्य कार्य मानिंदैन ।

एक नागरिकले समाजमा वर्षौंको लगानी, निष्ठा, कर्तव्यपरायणता, कानूनको पालना लगायतका कृयाकलापद्वारा आफ्नो पहिचान र प्रतिष्ठा आर्जन गरेको हुन्छ । व्यक्तिको ख्याति एवं प्रतिष्ठा उसको सबै सम्पत्ति भन्दा महत्वपूर्ण आर्जन हो । व्यक्तिलाई समाजमा सम्मान र विश्वास निजको ख्याति एवं प्रतिष्ठाको आधारमा गरिन्छ । मैले धेरै लामो समयदेखि कानुनसम्मत व्यापार व्यवसाय गरी आफ्नो निष्ठापूर्ण व्यवसायीक हिचान बनाएको छु । एक सामान्य नागरिक सरह मेरो आफ्नो वैयक्तिक, पारिवारिक एवं सामाजिक यहिचान प्रतिष्ठा र सम्मान रहेको छ । यस पृष्ठभूमिमा मलाई एक पटक पनि नबुझी समाचारमा उल्लेखित गैरकानूनी कृयाकलापमा मेरो तश्विर सहित संलग्नता रहेको भन्ने समाचारले मलाई अनर्गल आरोप लगाउने “मेरो स्वाभिमान र अन्तस्करणमा गंभीर चोट पुऱ्याउने र मर्माहत गर्ने कार्य भएको छ ।

अन्यलाई आक्षेप लगाउन, मर्माहत गर्न र प्रतिष्ठालाई धुलिसात गराउने कार्य किमार्थ पनि नैतिकतापूर्ण र व्यवसायिक आचरणभित्र पर्दैन । व्यवसायिक मूल्य मान्यता, आचरणको सिमा नाघी बेलगाम सम्वाददातालाई एक नागरिकले आफ्नो तर्फबाट खेद प्रकट गर्नु मेरो कर्तव्य ठान्दछु । सत्य र वस्तुनिष्ठ समाचार प्रकाशित गर्ने उपस्थित पत्रकार समक्ष प्रस्तुत प्रेश विज्ञप्ती जारी गर्ने मेरो नैतिकतापूर्ण साहसले नै मेरो निर्दोषिता परिपुष्टी गर्ने मैले विश्वास लिएको छु ।

पत्रकारले चलाउने कलम अत्यन्त गंभीर विषय हो । समाचार माध्यमबाट समाज र सर्वसाधारण नागरिकले सत्य र वस्तुनिष्ठ समाचारको अपेक्षा गरेका हुन्छन् । पत्रकारको कलमले सत्यलाई छायामा पार्ने र आधारहिन र असत्य व्यहोरालाई प्रतिकलायक हुने गरी प्रकाशन गरिएमा पत्रकारले समाज, राष्ट्रप्रतिको कर्तव्यघात र आप्नै व्यवसायिक मर्यादा विपरित कार्य गरेको मानिन्छ । त्यसमा पनि व्यक्तिलाई गैरकानूनी कार्यमा संलग्न भएको बिना आधार र प्रमाण आक्षेप लगाई समाचार दिईनु व्यवसायिक मर्यादाको घोर उल्लंघन र निन्दनीय कार्य हो । म संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार वा प्रकाशन गर्ने मिडियाले यसबारे माफी नमागे र खण्डन प्रकाशन नगरे म कानुनी उपचारमा जाने यहाँहरुलाई यही पत्रकार सम्मेलनमार्फत् जानकारी गराउन चाहन्छु ।

पुनः यहाँहरुको उपस्थितिको निम्ती धन्यवाद दिन चाहन्छु ।

प्रकाशित : ४ श्रावण २०८०, बिहीबार १३:४७