सुधीर बस्नेतले फिर्ता लिए मुद्दा,पीडित बचतकर्ताले साउन १५ बाट पैसा फिर्ता पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सुधीर बस्नेतले फिर्ता लिए मुद्दा,पीडित बचतकर्ताले साउन १५ बाट पैसा फिर्ता पाउने



काठमाडौं । ओरेण्टल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं घरजग्गा व्यवसायी सुधीर बस्नेतले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका छन् । उनले बुधबार सहकारी व्यवस्थापन समितिको कार्यालयले गरेको जग्गा लिलामीसम्बन्धी निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका हुन् ।

साथै, सरकारले २०७९ असोज ७ गते सहकारीलाई पुनः दोस्रो पटक समस्याग्रस्त घोषणा गरेपछि बस्नेतले अदालतमा उक्त प्रक्रिया गलत भएको भन्दै तत्कालीन मन्त्री, सचिव र सहकारी विभागको रजिष्ट्रारविरुद्ध पनि मुद्दा दायर गरेका थिए । बस्नेतले २०७६ फागुन ११ गतेको निर्णयविरुद्ध सरकारले समस्याग्रस्त घोषणा गरेको भनेर मानहानीको मुद्दा हालेका थिए।

यता बस्नेतले मुद्दा फिर्ता लिएपछि समितिको कार्यालयले विभिन्न निर्णयहरु गरेको छ । ओरेन्टलका जग्गाजमिन खोजतलास गरी लिलामीमा लैजाने निर्णय भएको कार्यालयका सदस्यसचिव केशवप्रसाद पौडेलले जानकारी दिए । एक लाखभन्दा मुनिका बचतकर्तालाई साउन १५ बाट पैसा फिर्ता गर्न थालिने भएको छ । त्यस्तै ओरेन्टलका ऋणीलाई सम्पर्कमा आउन १५ दिने सूचना सार्वजनिक गर्ने निर्णय पनि भएको पौडेलले जानकारी दिए ।

मुद्दा फिर्तासँगै ओरेन्टल सहकारीबाट बचत फिर्ता नपाएका ४ हजार ३ सय बचतकर्ताले आफ्नो रकम फिर्ता पाउने बाटो खुलेको हो । ओरेन्टलले ४ हजार ३ सय बचतकर्तालाई करिब ६ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिन बाँकी छ ।

ओरेन्टललाई सरकारले पहिलो पटक २०७४ कात्तिकमा समस्याग्रस्त घोषणा गरेको थियो । त्यतिबेला ७ हजार ५४६ जना पीडितले आफूहरुले बचत रकम फिर्ता नपाएको गुनासो गरेका थिए । यसबीचमा अदालती प्रक्रियासँगै बस्नेतले कोहीलाई पैसा र कोहीलाई जग्गा दिएका थिए । हाल ४ हजार ३ बचतकर्ताले साढे ६ अर्ब मागदावी गरेका छन् ।

प्रकाशित : २९ असार २०८०, शुक्रबार १६:४५