म्याग्दीको मालिकामा सहकारी सञ्जाल गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

म्याग्दीको मालिकामा सहकारी सञ्जाल गठन



बागलुङ । म्याग्दीको मालिका गाउँपालिकामा क्रियाशिल सहकारी संस्थाका प्रतिनिधिहरुको आइतबार सम्पन्न भेलाबाट मालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । पालिका भित्र सञ्चालित सहकारी संस्थाहरुका बीच समन्वय गरी सहकारीलाई प्रभवकारी रुपमा सञ्चालन गर्न तथा पालिका सरकारसंग समन्वय गरी संस्थागत विकास र सहकारीकर्मीहरुको क्षमता विकासका लागि क्रियाशिल हुने गरी सञ्जाल गठन गरिएको हो ।

आत्मनिर्भर साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्तनाथ सुवेदीको संयोजकत्वमा ७ सदस्यीय सञ्जाल गठन गरिएको हो । सञ्जालका सदस्यरुमा अन्नमपुष्पम शहिद स्मृति सहकारी संस्थाका खड्क बहादुर छन्त्याल, न्यू दरवाङ महिला वचत तथा ऋण सहकारी संस्थाका लक्ष्मी सापकोटा आचार्य, मालिका महिला वचत तथा ऋण सहकारी संस्थाका इन्द्रमती फगामी, सोलेडाँडा महिला वचत तथा ऋण सहकारी संस्थाका सिता उपाध्याय, रुम महिला वचत तथा ऋण सहकारी संस्थाका गीता बुढाथोकी र नवमालिका वचत तथा ऋण सहकारी संस्थाका छेम बहादुर विक रहेका छन् ।

सहकारी सञ्जालका संयोजक तथा सदस्यहरुलाई वधाई दिदै गाउँपालिका अध्यक्ष वेग प्रसाद पुनले सहकारीहरुलाई आम समुदायसंग जोडन र उनीहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्न सञ्जालले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए । पालिकाको सहकारी ऐनमा सुधार गरी पालिका स्तरीय संघ गठनको व्यवस्था गरिने पनि उनले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा समस्या आउनुमा नियत, वेवास्ता र वित्तीय संकट मुख्य कारण रहेको चर्चा गर्दै नियत राख्नेहरुलाई कार्बाही गर्न, वेवास्ता गर्नेहरुलाई सच्याउन तथा वित्तीय संकटका कारण जोखिममा परेका सहकारीहरुलाई जोगाउन राज्यले प्रभावकारी कदम चाल्नु पर्नेमा जोड दिए ।

मालिका गाउँपालिकाका अधिकृत तथा सहकारी शाखाका प्रमुख सोम बहादुर केसीले मालिका गाउँपालिका भित्रका सहकारीहरुको अनुगमन, नियमन शुरु गरिएको र सहकारीहरुलाई सहकारी ऐन, नियममा रहेर काम गर्न सहजीकरणका लागि सञ्जालसंग समन्वय गरिने बताए ।

सहकारीहरुमा देखिएका समस्याको पहिचान गरी सुधार गर्न तथा सहकारीप्रति देखिएको नेरास्यतालाई चिर्दै आम समुदायमा सहकारीप्रतिको विश्वास जगाउनका लागि सञ्जालका तर्फबाट निरन्तर लागिने उनले बताए । नियत खराव भएका केही सहकारीहरुले गरेको बदमासीका कारण आज सिंगो सहकारी अभियानप्रति जनताले आशंका गरेको विषयलाई गाउँ गाउँबाट चिर्न र आफ्ना सदस्यहरुलाई सहकारीप्रति आश्वस्त र विश्वस्त बनाउनका लागि सबै सहकारीहरुसंग समन्वय गरेर काम गरिने संयोजक सुवेदीले बताए ।

सदस्यमैत्री भएर काम गर्दा गर्दै पनि वित्तीय संकटका कारण समस्यामा परेका सहकारीहरुको समस्या समाधानका लागि गाउँपालिकासंग समन्वय गरिने उनको भनाइ छ ।

प्रकाशित : १८ असार २०८०, सोमबार १२:३२