ब्रोकर लाइसेन्स रोक्ने निर्णय खारेज गर्न न्यु स्टक ब्रोकर एशोसिएसनको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ब्रोकर लाइसेन्स रोक्ने निर्णय खारेज गर्न न्यु स्टक ब्रोकर एशोसिएसनको माग



काठमाडौं । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालले नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स वितरणसम्बन्धमा अर्थ समितिबाट भएको निर्देशन प्रति आपत्ति जनाएको छ । अर्थ समितिलाई १६ बुँदे ज्ञापनपत्र बुझाउदै नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाइसेन्स रोक्न नहुने माग गरेको छ ।

करिब आधा करोड लगानीकर्ताको आशा र विश्वासविपरीत पुँजीबजारको विकास र विस्तारलाई रोक्ने उद्देश्यले अर्थ समितिबाट नेपाल सरकार, अर्थमन्त्रालय, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जारी निर्देशनले नेपालको पुँजीबजारमा भएको यति ठूलो प्रगतिलाई रोक्ने भएको हुँदा यस्तो पूर्वाग्रह पूर्ण निर्देशनलाई तुरुन्त खारेज गर्न ज्ञापनपत्रमा माग गरिएको छ।

एसोसिएसनले अर्थ समितिलाई विभिन्न सुझाव दिँदै ती विषयलाई गम्भीरताका साथ लिइदिन पनि आग्रह गरेको छ। ‘संघीय संसदअन्तर्गतको अर्थ समितिबाट नेपालको पुँजीबजार सुधार तथा बजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व प्रदान गरिदिनुहुनका लागि हामी हार्दिक आग्रह गर्दछौँ’,ज्ञापनपत्रमा भनिएको छ।

अर्थ समिति केही दिन बसेको बैठकमा सांसदहरुले नेपाल धितोपत्र बोर्डले समितिको निर्देशन अटेर गर्दै व्यापारिक लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि अर्थ समितिले यस विषयमा छलफल गर्न धितोपत्र बोर्डका अध्यक्षलाई अर्को बैठकमा बोलाउने निर्णय गरेको थियो।

प्रकाशित : 14 June, 2023 1:47 pm