काठमाडौं । चर्को घाम र गर्मीका कारण देशभरको जनजीवन अस्तव्यस्त भएको छ । विशेषगरी तराई क्षेत्रमा अवस्था असामान्य बनेको छ । तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना देखिएको छ ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
“हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावन यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।
साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी सूचना तथा पूर्वानुमानमा अद्ययावधिक रहन पनि अनुरोध गरिएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए । “विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ । नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी छ जसले गर्मी बढेको छ”, उनले भने ।
लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाद्वारा जारी सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
Comment