काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्न लागेको हो ।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ । आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ परेका छन् । यता, प्रभावति ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुलाई भने १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।
साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने ४९ लाख ९८ हजार ७५० कित्ताको १०५ अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले माघ १८ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद फागुन ४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
यता, वैदेशिक रोजगारमा रहेकाहरुले भने माघ १८ गतेभित्रमा आवेदन दिइसक्नुपर्नेछ । यसमा दुवै समूहका आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाहरुले ताप्लेजुङ जिल्लास्थित सानिमा बैंक, लक्ष्मी बैंक, ग्लाेबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ भने कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।
Comment