काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ असोज १ गते देखि खुल्ने भएको छ। बुधबार यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,ट्राफिक प्रहरीबिच भएको छलफलमा असोज १ देखि नै टिकट बुकिङ खोल्ने सहमति भएको हो ।
यातायात व्यवसायीहरुबीच अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने रअनलाइनबाट बुकिङ गर्ने यात्रुलाई छुट तथा सहुलियत पनि प्रदान गर्ने सहमति भएको छ।
यातायात आवत जावतमा सजिलो पार्न खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधनहरु आगामी असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाण्डांसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि बैठकले गरेको छ।
अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ।
कोभिड महामारीलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने तथा यसका लागि यात्रुलाई खाना–खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने सहमति पनि भएको छ।
Comment