काठमाडौं । मेडिकल कलेजका मालिक अर्थात मेडिकल शिक्षा व्यवसायी डा.सुनील शर्मा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नं ३ बाट चुनाव लड्ने भएका छन् । मंगलबार कांग्रेसको क्षेत्रिय कमिटीको बैठकमा शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ ।
बैठकमा प्रतिनिधि सभाको लागि ६ जना व्यक्तिको नाम शुरुमा प्रस्ताव गरिएको थियो । प्रस्तावित नामहरु डा.सुनील शर्मा, मित्रसेन योन्जन, जयराज लिम्बू, केशव दुलाल, गोपाल नेपालीलगायत एक जना महिला थिए तर सबै प्रस्तावित गरिएका व्यक्तिहरुले बैठकमा शर्माको नाममा सहमति गरेका थिए ।
नोबल मेडिकल कलेज विराटनगरका संस्थापक संचालक, नेपालगञ्ज मेडिकल कलेजका शेयर होल्डर साथै काठमाडौं सिनामंगलको काठमाडौं मेडिकल कलेज र पिपुल डेन्टल कलेज काठमाडौंमा समेत स्वामित्व जमाएका डा. शर्मा यसअघिको निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग झीनो मतले पराजित भएका थिए ।
कोरोना भाइरसको महामारीमा आम नागरिकलाई निशुल्क स्वास्थ्य सेवा तथा विभिन्न स्वास्थ्य शिविरहरु संचालन गरेर लोकप्रियता हासिल गरेका उनी यस पटक चुनाव जित्ने दाबी गर्दै आएका छन् । डा. शर्माले नोबल अस्पतालमार्फत स्वास्थ्य र शिक्षामा जोड दिँदै आएका छन् । उनले मोरङ ३ मा कोही पनि रोग लागेर उपचार नपाएर मर्न नपरोस् भन्दै सेवा गरिरहेका छन् ।
निःशुल्क स्वास्थ्य शिविर चलाइरहेका छन् । वृद्धवृद्धालाई त शिविरबाट उपचार सम्भव नभएर अस्पतालमा आफैंले ल्याउने उपचार गराउने र फिर्ता पनि लगेर घरमै छाडिदिने काम गर्दै आएका छन् ।
Comment