लघुवित्त संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्नसक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्नसक्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । जसमा राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्नसक्ने भएका छन् ।

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य बमोजिम लघुवित्त वित्तीय संस्थालाई सामाजिक बैंकिङ्ग अवधारणा अनुरुप दुर्गम तथा पीछडिएको क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्न प्रोत्साहन गरिने भएको छ ।

बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बजेट बमोजिम कृषि कर्जामा सहज पहुँच पु¥याउने उद्देश्यले स्थापना हुने लघुवित्त कोषको कानूनी, संस्थागत र कार्य सञ्चालन ढाँचाअनुसार कार्यान्वयनमा सहजीकरण गरिनेछ ।

सहुलियतपूर्ण ब्याजदरमा सर्वसाधारणले लघुवित्तबाट पनि ऋण पाउन सक्ने गरी कोष ल्याउने योजनामा अर्थमन्त्रालय रहेको छ । यस्तै बजेट बमोजिम नेपाल सरकारको समेत लगानी रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनरसंरचना भएपश्चात पुँजी संरचना र संस्थागत क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा आवश्यक सहजीकरण गरिने नीतिमा उल्लेख छ ।

सरकारले किसानलाई कृषि कर्जा उपलब्ध गराउन पाँच खर्बको लघुवित्त कोष स्थापनाको घोषणा बजेटमा गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका थिए । किसानलाई सहुलियत र सहुलियत कर्जा दिन बनाइएको यस्तो कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा लगानी गर्नुपर्नेछ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार १७:२०