विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि



काठमाडौं । राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार विप्रेषण आप्रवाह ३.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोआप्रवाह १०.५ प्रतिशतले बढेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३ सय ६७ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु.१००६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

प्रकाशित : २७ असार २०७९, सोमबार १६:३३