नेपाल एसबिआई बैंकको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आजदेखि ५ वर्ष अवधिको वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन्।

ऋणपत्र खरिदका लागि छिटोमा असार २६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित : २२ असार २०७९, बुधबार १०:५६