गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ : अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गरिनुपर्छ : अर्थमन्त्री



काठमाडौं । आगामी आबको बजेट निर्माणका बिषयमा आइतबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले गरिबीका कारण रोग पालेर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी बजेट बनाउनुपर्ने बताएका छन् ।

अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले गरिबीमुक्त गरी रोग लाग्नबाटै जोगाउने गरी स्वास्थ्य मन्त्रालयबाट बजेट र कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे । उनले पालिकाहरुमै बिज्ञ सेवासहितको अस्पताल र सुविधा सम्पन्न प्रयोगशाला निर्माण हुनुपर्ने बताए ।

उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको सेवा अन्यत्र पनि बिस्तार गर्ने गरी बजेट र कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेका थिए । ‘स्वास्थ्य बिमा अति बिपन्न परिवारसम्म पुग्ने, सुत्केरी सेवा सुधार गर्ने, मिर्गौला–कलेजोलगायत नसर्ने तर जटिल प्रकारको रोगको उपचार गर्न बिदेशी जानुनपर्ने स्थिति सृजना गर्ने गरी आगामी बजेटमा सम्बोधन गर्नुपर्नेछ’ उनले भने ।

बैठकमा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले ५ सयदेखी १५ सय शैय्यासम्मको निर्मित अस्पतालहरुमा चिकित्सकको दरबन्दी र उपकरण व्यवस्था गर्नुपर्ने बताएका थिए । योजना आयोगका उपाध्यक्ष बिश्वनाथ उपाध्यायले मेडिकल टुरिजम बनाउने, नेपालमा असंभव भए मात्र बिदेशमा उपचार गर्न जाने व्यवस्था लागू गर्ने, सातै प्रदेशमा रहेको प्रादेशिक अस्पताललाई रिफरल सेन्टरका रुपमा विकसित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

प्रकाशित : ११ बैशाख २०७९, आईतवार १७:१०