काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवम आइएमइ ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले धैर्यता, मेहेनत र प्रतिबद्धतालाई प्राथमिकतामा राखेर सहकारीमार्फत काम गर्न सकियो भने सफल बन्न सकिने बताएका छन् ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरममा शनिबार आफ्नो प्रस्तुती दिंदै ढकालले सहकारीको माध्यमबाट पूँजी, श्रम र सीपलाई अघि बढाउन सकियो भने सफल हुन सकिने बताएका हुन् । उनले उद्यमशीलताका लागि आफूहरु सहकार्य गर्न जहिल्यै तयार रहेको बताए ।
आइएमइ ग्रुपका संस्थापक समेत रहेका ढकालले कुनै पनि काममा सफलता हासिल गर्न धैर्यता, दृढ इच्छा शक्ति र सोचले आवश्यक रहेको पनि औंल्याए । उनले सहकारीमार्फत हुने हरेक व्यवसायिक गतिविधिमा आफूहरु सहकार्य गर्न इच्छुक रहेको पनि बताए ।
चन्द्रगिरी हिल्स र आइएमइ रेमिट्यान्टसले पाएको व्यवसायिक सफलताको उदाहरण दिंदै ढकालले सामूहिक बल, धैर्यता र प्रतिबद्धताले सफल हुन सकेको सुनाए । उनले भने,‘नेपालमा संभावनाहरु प्रशस्त छन । सोच र शक्ति प्राथमिकतामा राख्नुपर्छ । तपाइँहरुले देखिरहनु भएको छ, कोभिडपछि विदेशी पर्यटक नआउँदा आन्तरिक पर्यटन गतिविधि जुन रुपले बढीरहेको छ, त्यसले हामीलाई सिक्ने मौका दिएको छ । विदेशीलाई मात्र पर्यटक मान्ने मानसिकताको अन्त्य भएको छ ।’
ढकालले कतिपय अवस्थामा समस्याले पनि अवसरहरु प्रदान गर्ने गरेको उदाहरण कोभिडपछिको आन्तरिक पर्यटन गतिविधिलाई दिए । उनले सहकारीसँग जोडिएका ७३ लाख जनसंख्यालाई सामूहिक रुपमा जोडेर लान सकियो भने समृद्धि हासिल गर्न सकिने बताए । उनले भने,‘७३ लाख जनसंख्यालाई सातै प्रदेशमा परिचालन गर्न सकियो भने पूर्वाधार निर्माण देखि विकासका सबैखाले काममा अघि बढाउन सकिन्छ । समृद्धिलाई बढावा दिन सकिन्छ ।’
Comment