काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले अब आर्थिक र मानसिक सन्तुष्टिको समृद्धि आवश्यक रहेको औंल्याएका छन् ।
सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै मन्त्री पौडेलले आफ्नो धारणा राख्दै देशमा राजनीतिक परिवर्तन आइसकेकाले अब युवाहरुले आर्थिक समृद्धितर्फ उन्मुख हुनुपर्ने बताएका हुन् ।
विदेशमा जाँदा मात्र राम्रो हुने, विदेशमा मात्र सफलता हासिल हुने भन्ने खालको मानसिकताको अन्त्य गर्दै नेपालमै संभावनाहरु खोज्नुपर्ने उनको भनाइ छ । उनले भने,‘देशमा ढिला भए पनि विकास हुँदैछ । पूर्वाधार निर्माण भइरहेको छ । दिगो विकासको लक्ष्य अघि बढाइएको छ । अब समृद्धिका लागि युवाहरुले स्वदेशमै संभावना देख्नुपर्छ ।’
सहकारीलाई देशको संविधानले तीन खम्बे अर्थनीतिमा समेटेकाले दिगो विकास लक्ष्यका साथ समूहगत रुपमा युवाहरु लाग्न पनि उनले आग्रह गरे । उनले अगाडि भने,‘हामीले आफैं संभावना देख्न सकेनौं । ठमेल र पोखराको व्यापार चाइनिजहरुले लिइसकेको देखेका छैनौं । अरुले नेपालमा संभावना देख्दैछन् । हामी पछि परिरहेका छौं । त्यसैले युवाहरुले इच्छाशक्ति, दृढता र सक्रियताका साथ समृद्धिका लागि लाग्नुपर्छ ।’
सहकारीमा लागेका युवाहरुलाई प्रोत्साहित गर्दै मन्त्री पौडेलले लगानी गर्न नडराउन अब्हान गर्दै मन्त्री पौडेलले अब युवाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे । उनले मुलुकको समृद्धिका लागि नीजि क्ष्ोत्र, सामूदायिक र सहकारीलाई सँगै अघि बढाउन युवाहरुलाई आग्रह पनि गरे ।
Comment