अर्थमन्त्री शर्माले एमसीसी पेस गर्न अस्वीकार गरेपछि विग्रियो माहोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

अर्थमन्त्री शर्माले एमसीसी पेस गर्न अस्वीकार गरेपछि विग्रियो माहोल



काठमाडौं । अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कारण सत्तारुढ गठबन्धनमै तिक्तता बढेको छ । सत्तापक्षकै नेताहरु पक्ष र विपक्षमा उभिएका छन् । बुधबार नै एमसीसी संसदमा टेबुल गर्ने मनस्थितिमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा ब्याक भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी बुधबार टेबल नगर्ने सहमति भएको हो ।

यता, सरकारले एमसीसी सदनमा पेश गर्ने संकेत गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संसदमा अर्थमन्त्रालयको तर्फबाट सो प्रस्ताव पेश गर्न अस्वीकार गरेका छन् । सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालेका अर्थमन्त्रीले सो प्रस्ताव लिएर जान अस्वीकार गरेपछि माओवादीलाई सरकारमा रहन नैतिक संकट देखिएको छ ।

अर्थमन्त्रीले पेश नगर्ने हो भने सञ्चारमन्त्रीले पेश गर्नुहुनेछ’, सरकारका एक मन्त्रीले भने । उनी भन्छन्, ‘आर्थिक परियोजना अर्थमन्त्रालय मार्फत संसदमा आउनुपर्छ तर गठबन्धनभित्र सहमति नबनेपछि अर्थमन्त्री शर्माले पेश गर्न मान्नु भएन । उहाँले नमानेपछि नैतिक रुपमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अधिकार छैन ।’

गठबन्धन सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले एमसीसी पास गर्ने तयारीअनुसार संसदमा पेश गर्न लागेको हो । कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयबाट पछि नहट्ने प्रष्ट पारिसकेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा अगाडि बढाउन नसक्ने यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार १३:२४