एमसीसी पारित गर्नुपर्ने निष्कर्षमा कांग्रेसः ‘सम्झौता रोकिए नेपालले दुःख पाउने’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

एमसीसी पारित गर्नुपर्ने निष्कर्षमा कांग्रेसः ‘सम्झौता रोकिए नेपालले दुःख पाउने’



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा नेपाली कांग्रेस नयाँ निष्कर्षमा पुगेको छ । कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । नयाँ बानेश्वरमा साेमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा लामो समयदेखि एमसीसीलाई रोकेर राख्दा राम्रो सन्देश नजाने भन्दै त्यसविरुद्ध फैलाइएको अफवाह चिर्न पनि संसदमा पेश गर्नुपर्ने कांग्रेसको ठहर छ ।

कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतले एमसीसी सम्झौता रोकिएमा नेपालले दुःख पाउने बताए । यस विकास परियोजनाबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै उनले एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने जिकीर समेत गरे ।

एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप हुनै नसक्ने बताए । इण्डो प्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नभएको दाबी गर्दै उनले २००४ मा अमेरिकी संसदबाट पारित यस परियोजनासँग नेपाल २०१२ देखिनै प्रत्यक्षअप्रत्यक्षरूपमा जोडिएको जानकारी दिए । २०१८ मा आएको इण्डो प्यासिफिक रणनीतिसँग यसलाई जोड्नु अर्थहीनभएको उनको भनाइ छ ।

एमसीसी कुनै देशविरुद्धमा नभएको जिकीर गर्दै एमसीसी बीआरआई वा चीन विरुद्ध नरहेको पनि प्रष्ट पारे । फागुन १६ गतेभित्र संसदले एमसीसी अनुमोदन नगरे नेपाललाई गम्भीर क्षति हुने चेतावनी समेत दिएका छन् ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको बैठकको बीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

बुधबारका तय भएको प्रतिनिधि सभाको बैठक बस्नु अघि कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी नगरेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर बैठक बोलाउन आग्रह गरेका हुन् ।

प्रकाशित : ३ फाल्गुन २०७८, मंगलवार १३:२६